
भक्तपुर, १७ जेठ : चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बसपार्कस्थित १९ रोपनी १० आना सार्वजनिक जग्गा व्यक्तिको नामबाट फिर्ता ल्याएर काल भैरबको मूर्ति स्थपना गरिएको छ ।
यहाँको १९ रोपनी १० आना क्षेत्रफल रहेको ४७ नम्बर कित्ता रहेको सार्वजनिक जग्गालाई २०४२ सालमा व्यक्तिको नाममा दर्ता गरि बिभिन्न व्यक्तिमा हक हस्तान्तरण भएको आर्थिक वर्ष २०६०÷०६१ सालमा स्थानीयले थाहा पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

अनुसन्धान पश्चात आयोगले जिल्ला मालपोत कार्यालय भक्तपुरका नाममा व्यक्तिको नाममा भएको दर्ता खारेज गरि सार्वजनिक जग्गा कायम गर्न पत्राचार गरे पश्चात कार्यालयले दर्ता खारेज गरेको थियो ।
सरकारकै नाममा कायम भएको उक्त जग्गामा स्थानीय सरकारको पहल र स्थानीय नागरिकको सहभागितमा काल भैरबको विशाल मूर्ति स्थापना गरेको चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेलका वडाध्यक्ष सिजन कार्कीले जानकारी दिनुभयो ।

वडाध्यक्षल कार्कीले भन्नुभयो, “व्यक्तिको नाममा दर्ता भएको सार्वजनिक जग्गा स्थानीयवासीकै पहलमा पुन सार्वजनिक रुपमा सरकारककै नाममा फिर्ता गरेपछि यो जग्गाको संरक्षण गर्न स्थानीय सरकार र स्थानीइवासी एक भएर लागेका छौँ, यही साता यस जग्गामा दुई लाख ५० हजारको लागतमा निर्माण भएको ढुङ्गाको विशाल काल भैरबको मूर्ति स्थापना गरि प्राण प्रतिष्ठा समेत गरेका छौँ, यस क्षेत्रमा अरु भौतिक संरचना निर्माण हुने क्रम रहेको छ ।”
स्थानीयको व्यापक सहभागितामा बाजागाजा र र्यालीसहित काल भैरबको मर्ति स्थापना गरेसंगै अब करिब २० लाखमा अर्को एक मन्दिर निर्माण गर्ने, करिब २० लाख कै लागतका अर्को बहुउदेश्यीय सामुदायिक भवन निर्माण गर्ने र यस क्षेत्रको संरक्षणसंगै धार्मिक क्षेत्रको रुपमा विकास गरि पर्यटक भित्रयाउने गरि कार्य अगाडि बढाएको वडाध्यक्ष कार्कीले जानकारी दिनुभयो ।
