
सिन्धुपाल्चोक । स्वास्थ्य सेवाको सहज र गुणस्तरीय सेवा एवं उपकरणको पहुँचबाट अलि टाढा रहेको सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. ७, दुवाचौरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा स्थानी एक हजारभन्दा बढीले सेवा लिएका छन् ।
बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय र जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा, मेलम्ची नगरपालिका तथा वडा नं. ७ कार्यालयको सहकार्यमा सम्पन्न भएको एकदिने एकीकृत निःशुल्क स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।
स्वास्थ्य मन्त्री किरण थापाले स्वास्थ्य शिविरबाट यहाँका हजार भन्दा बढी नागरिकले सेवा लिएको बताउदै दूरदराजमा रहेको नागरिकका लागि पनि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यका साथ स्वास्थ्य मन्त्रालय लागिरहेको बताउनुभयो ।
उहाँले कोही पनि व्यक्ति औषधि र उपचार नपाएर ज्यान गुमाउन नपरोस भनेर आफू मन्त्री भएदेखिनै दूर्गममा रहका र दूर दराजमा रहेका स्वास्थय संस्था, अस्पतालहरुको अनुगमन, अवलोकन गरि अस्पतालहरुमा रहेको समस्याको आवश्यकता अनुसार सम्बोधन गर्दै आएको बताउनुभयो ।
शिविरमा एकीकृत स्वास्थ्य परीक्षण, निदान र परामर्श, हाडजोर्नी, नशा, छाला, यौन रोग जाँच, आँखाको परीक्षण र उपचार, स्त्री तथा प्रसूति स्वास्थ्य सेवा, पाठेघर र स्तन क्यान्सर स्क्रिनिङ, बालबालिकाको पोषण मूल्यांकन, मानसिक स्वास्थ्य परीक्षण र सल्लाह, आयुर्वेद तथा वैकल्पिक चिकित्सा (अकुपञ्चर, कपिङ), अल्ट्रासाउन्ड, प्रयोगशाला परीक्षण, क्षयरोग स्क्रिनिङ, परिवार नियोजन सेवालगायतका सेवाहरु निःशुल्क प्रदान गरिएको थियो ।
स्वास्थ्य शिक्षा र सन्तुलित आहार प्रदर्शनी समेत रहेको शिविरमा सबै उमेर समूहका नागरिकलाई लक्षित गरी २० भन्दा बढी प्रकारका विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरस्थलमा महिला, बालबालिका, वृद्धवृद्धा, युवा लगायत सबै वर्गका स्थानीयवासी सेवा लिएका थिए । शिविरमा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमलगायतका मन्त्रालयको टीम पुगर शिविरको निरीक्षण, आवश्यक परामर्श प्रदान गरिएको थियो ।