
भक्तपुर, १९ जेठ ः सगरमाथाको टुप्पो नियाल्न सकिने भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित नगरकोट यतिखेर खुसीले गद्गद् छ । झण्डै १२ वर्षदेखि अलपत्र र धुलाम्मे भक्तपुर–नगरकोट सडकले हैरान भएका यहाँका बासिन्दा र पर्यटन व्यवसायी सडक कालोपत्र हुन थालेपछि खुसी र उत्साहित भएका हन् ।
गत बैशाखदेखि चाँगुनारायण नगरपालिकाले सुरु गरेको नगरकोट भ्रमण वर्ष–२०८२ लाई लक्षित गर्दै आफ्नो आन्तरिक श्रोतबाट बजेट व्यास्थापन गदै नगरपालिकाले भक्तपुर नगरकोट सडक स्तरोन्नतीसंगै कालोपत्र गर्ने कार्य सुरु पर्यटकीय क्षेत्र नगरकोटबाट सुर गरेसगै यहाँका बासिन्दा र पर्यटन व्यवसायी उत्साहित भएका हुन् ।
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्ने गरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी ३१ करोड रूपैयाँमा ठेक्का सम्झौता गरि स्तरोन्नती सुरु गरेपनि निर्माण कम्पनीले सडक अलपत्र पारेर निर्माण सम्पन्न नगर्दा स्थानीयदेखि पर्यटन व्यवसायीसमेतले सास्ती व्यहोर्नु परेको थियो ।
सम्झौता गरेको ११ वर्षमा १० औ पटक म्याद थप गर्दा पनि बिभिन्न बाहना गर्दै सडक निर्माण सम्पन्न नगरेपछि गत पुस अन्तिम साता सडक सुधार तथा विकास परियोजना निर्देशनालयले उक्त सडकको ठेक्का सम्झौता रद्द गरेसंगै नगरपालिकाले उक्त सडक आफ्नै श्रोतमा निर्माण गर्ने गरि कार्यपालिका बैठकबाटै निर्णय गरेर प्रक्रिया सुरु गरेको थियो ।
नगरपालिकाले सडक निर्माणका लागि भक्तपुर नगरकोटसम्मको १५ किलोमिटर सडक खण्ड स्तरोन्नती आफ्नै आन्तरिक श्रोतबाट खर्च व्यहोर्ने गरि बोलपत्र आव्हान गर्दै रु. १७ करोडमा ठेक्का सम्झौता गरि कालोपत्र गर्ने कार्य सुरु गरेको नगरपालिकाका प्रमुख जस्वन खत्री बताउनुहुन्छ ।
“यही सडकको कारण यहाँको पर्यटन व्यवसाय धरापमा पर्नुका साथै स्थानीयले निकै सास्ती खेप्नु परेको थियो, सरकारले ठेक्का रद्ध गरे हामी आफै सडक बनाउँछौ भनेर वाचा गरेका थियौ”, नगर प्रमुख खत्रीले भन्नुभयो, “त्यहीँ वाचा अनुसार कायपालिकाबाट पारित गरेर कालो पत्र सुरु गरेका छौँ, एक महिना भित्र सडक स्तरौन्नती एवं कालोपत्र सक्न निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ ।”

नगरप्रमुख खत्रीले भन्नुभयो, “सम्बन्धित मन्त्रालयसंग र सडक विभागसंग छलफल गरेरै काम थालनी गरेका हौँ । नगरकोट आउने पर्यटकलाई सहज हुने गरि खाल्डो पुर्ने र सडकको स्तरोन्नती गरेर कालोपत्र गर्छौ । सडकको पेटी बनाउने, ड्रेन बनाउने र बाँकी अरु काम केन्द्रीय सरकारले गर्नेगरि छलफल भएको छ । त्यसैले कालोपत्रका लागि ठेक्का सम्झौता गरेका हौ ।” सडक कालोपत्र भएसंगै चाँगुनारायण नगरपालिकाले आयोजना गरेको नगरकोट भ्रमण वर्ष सफलतामा पुर्याउन सहज हुने, स्थानीयले राहत पाउने र पर्यटन एवं होटर व्यवसायीलाई पनि पर्यटक भित्रयाउन अब सहज हुने उहाँले बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीलेसडक कालोपत्र सुरु भएसंगै स्थानीयवासीमा खुसी छाएको बताउदै नगरकोट जाने मुख्य पर्यटकीय मार्गमा सहज यात्रा सम्भव हुने बताउनुभयो । शैलुङ्ग कन्स्ट्रक्सनले अलपत्र छाडेको सडकमा नगरपालिकाले नगरकोटबाट सडकको लेबर मिलाएर गाईबे्रल हाल्दै बेस मिलाउने, आसप्लान्ट कालोपत्र गर्ने र वर्षा अगाडिनै निर्माण सम्पन्न गर्नेगरि तीब्र गतिमा काम गराईरहेको उहाँले बताउनुभयो ।
चानपा वडा नं. ६ का वडाध्यक्ष धनबहादुर लामाले माथिल्लो भेग अर्थात पर्यटकीय क्षेत्र नगरकोट वसपार्कबाट कालोपत्र सुरु भएको बताउदै नगरकोट भ्रमण वर्ष सफल पार्ने गरि पर्यटकलाई भित्रयाउन सहज हुने बताउनुभयो ।
स्थानीय पर्यटन व्यवसायी विष्णु तामाङ्गले नगरकोटमा कालोपत्र सुरु भएसंगै पर्यटन तथा होटल व्यवसायीहरु उत्साहित भएको बताउदै सडककै कारण नगरकोट नआई अन्यत्र जाने पर्यटकहरु सूर्योदय, सूर्यास्त, हिमाली दृश्यावलोकन गर्दै यहाँका प्राकृतिक सौन्दर्यता नियाल्न आउने क्रम बढ्ने बताउनुभयो ।
नगरकोट नाल्दुम पर्यटक विकास समितिका अध्यक्ष नविन गुरुङ्गले भ्रमण वर्षको अवसरमा होटल व्यवसायीहरुले पर्यटक भित्रयाउन बिभिन्न प्याकेज ल्याएको बताउदै ठूला होटलहरुमा लगानी बृद्धि गरेको बताउनुभयो । सडकको कालोपत्रसंगै पर्यटकको आगमन बढ्नेमा व्यवसायीहरु ढक्क भएको बताउनुभयो ।