
भक्तपुर, २४ साउन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संविधान र कानूनलाई राज्यले पालना गराउन सके जनताले न्याय पाउन सक्ने बताउनु भएको छ ।
आज प्रा.डा. रञ्जितभक्त प्रधानांग र सोमकान्ता भण्डारीद्धारा संयुक्त रुपमा लिखित फौजदारी कानुन र फौजदारी न्याय नामक पुस्तक भक्तपुरमा विमोचन गर्दै उहाँले कानूनलाई कार्यान्वयनमा ल्याउन चुक्न नहुने बताउनुभयो ।
पुस्तकले फौजादारी कानून र न्यायका विषयमा चिरफार गरेको बताउदै पुस्तकमा प्रकाशित लेखले समाजलाई कानूनी बाटोमो डोर्याउन मद्धत पुग्ने बताउनुभयो । उहाँले राजनीतिक आँडमा कानून मिच्ने प्रबित्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष विजुक्छें (रोहित) र वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले संयुक्त रुपमा पुस्तकको विमोचन गर्नु भएको हो । पुस्तकमा विभिन्न २१ शीर्षकहरुमा लेखिएका लेखहरुको सँंगालो रहेको बताउदै लेखक प्रधानांगले २०५९ देखि २०७७ सालसम्म लेखिएका लेखहरुको संगालो रहेको पुस्तक निकै उपयोगी रहेको बताउनुभयो ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधिस मेघराज पोखरेल, उच्च अदालत जनकपुर (अस्थायी इजलाश वीरगञ्ज)का निर्मला शाक्य, भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधिस बासुदेव नेपाल, नेपाल बार एसोसिएसनका अध्यक्ष विजयप्रसाद मिश्र, पुस्तकका प्रकाशक पैरबी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्र शिवाकोटीलगायतले पुस्तकका विविध पक्षबारे चर्चा गर्नु भएको थियो ।