भक्तपुर २५ श्रावण । भक्तपुरको सिपाडोलस्थित अहिले व्यावसायिक कालिज पालन शुरु गरिएको छ । सरकारले ल्याएको नयाँ कानुनसँगै शहर बजारमा समेत यसको ब्यवसायिक उत्पादन गर्न थालिएको छ ।
सूर्यबिनायक नगरपालिका–८ सिपाडोलमा कल्पित वाइल्ड लाइफ एग्रो सेन्टरले पहिलो पटक सरकारबाट स्वीकृति लिएर कालिजको व्यावसायिक पालन शुरु गरेको हो । ११ वर्ष कतारमा रोजगारीको सिलसिलामा बसेर आएका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले शुरुमा होटल व्यवसाय गरेता पनि हाल आएर पिताका सल्लाह र अन्य दुई साथिको सहकार्यमा कालिज उत्पादन गर्न थालेको बताउनुभयो । उहाँले हाललाई ३०० ‘रिङ नेक’ जातको कालिज पालिएको बताउदै यूरोपबाट ल्याएका ४ हजार अण्डा ल्याई ह्याचारीमा उत्पादन गर्न दिइएको र चल्ला उत्पादनपछि यहाँ ४ हजार भन्दा बढी हुने उहाँले जानकारी दिनुभयो ।
८ रोपनी जग्गा भाडा र २ रोपनी जग्गा आफ्नै गरी १० रोपनी क्षेत्रफलको जग्गामा हाल करीब १५ लाख लगानीमा कालिजपालन व्यवसाय शुरु गरिएको उक्त कालिज उत्पादन जेठदेखि शुरु गरिएको कालिज मंसिरमा खानयोग्य हुने जानकारी दिए । करीब ६ महीना पालेपछि मात्र कालिज खानलाई योग्य हुने समेत उनले जानकारी दिए ।
एक दिने चल्लालाई प्रति गोटा २ हजार रुपैयाँमा खरिद गरेर ल्याइएको कालिज बजारसम्म पुग्दा ३ हजार ५ सय देखि ४ हजारसम्ममा बिक्री गर्न सकिने आशिषले जानकारी दिनुभयो ।