
महोत्तरी,२८ श्रावण । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका –८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका –९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा मुकेश पक्राउ परेका हुन् । वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बिल भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए । त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन् । पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ ।