वुटवल, २८ श्रावण । जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने की नपाउने भन्ने विषयमा केन्द्र सरकारको स्पष्ट ऐन नभए तापनि प्रदेश ५ सरकारले भने सरकार गठन भएपछि स्थानीय तहका पदाधिकारीलाई दोहोरो सुविधा लिन नपाउने गरी ऐन बनाएको छ ।
प्रदेश सभाले बनाएको ‘प्रदेश ५ अन्तर्गतका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को बुँदा ८ मा स्थानीय तहका जनप्रतिनिधिले राज्यकोषबाट दोहोरो सुविधा लिन नपाइने उल्लेख गरिएको छ ।
त्यसको अर्थ निवृत्तिभरण पाइरहेका जनप्रतिनिधिले ऐनको दफा ३ बमोजिमको मासिक सुविधा र उनीहरूले पाइरहेको निवृत्तिभरण मध्ये कुनै एक सुविधा मात्रै लिन पाउने भनिएको हो । तर आफूले बनाइसकेको ऐनलाई उल्ट्याउँदै प्रदेश सरकारले अब फेरि स्थानीय तहका जनप्रतिनिधिले दोहोरो सुविधा लिन पाउने गरी ऐन संशोधन गर्ने निर्णय गरेको छ ।