काठमाण्डौ, २८ श्रावण । आरक्षणको कार्यान्वयन गर्न माग गर्दै बिभिन्न जनजातिसंग सम्बन्धीत संघ–संस्थाहरुले मंगलबार बालुवाटारमा विरोध प्रर्दशन गरेका छन् । संविधानले नै समानुपातिक समावेशी सिद्धान्त सुनिश्चिता गरेकामा राज्यले त्यसलाई बेवास्ता गरेको भन्दै उनीहरु विरोधमा उत्रीएका हुन् । संघीयताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले विज्ञापन आह्वान गरेको भन्दै उनीहरुले मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार क्षेत्रमा प्रर्दशन गरेका हुन् । प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीविरुद्ध नारावाजी गरेका प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरक्षाकर्मीसँग सामान्य झडप समेत भएको थियो ।