
काठमाडौं,२९ श्रावण । सरोकारवालाले उठाएका विषय सम्बोधन गर्दै अघि बढ्न सरकार तयार देखिएपछि विवादित ‘मिडिया काउन्सिल सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा अघि बढाईने भएको छ । प्रधानमन्त्री केपी ओली र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाबीच बुधबार छलफल हुने त्यसमा सहमति कायम भए आजै दिउँसो बस्ने राष्ट्रिय सभामा सो विधेयक अघि बढाउने सरकारको तयारी छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले गत वैशाख २७ गते राष्ट्रिय सभामा सञ्चारमाध्यमलाई नियमन गर्ने खालको विधेयक दर्ता गराउनुभएको थियो । सो विधेयक संविधानमा भएको प्रेस स्वतन्त्रता विपरीत रहेको र प्रेसलाई नियन्त्रण गर्ने खालको भन्दै चर्को विरोध भएपछि राष्ट्रिय सभामा रोकिएको थियो । करिब ४ महिनादेखि विधेयक दर्ता भए पनि संसदमा पेस हुन सकेको छैन । पत्रकार महासंघसहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि विधेयकको कडा विरोध गर्दै आएको थियो ।