
भक्तपुर, श्रावण २० । सूर्यविनायक नगरपालिकाले ‘पूर्णसरसफाई रणनीतिक योजना २०७६’ सार्वजनिक गरेको छ ।
नगरपालिकाले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेत, प्रदेश नं. ३ का प्रदेश सांसद शशीजंग थापाले उक्त रणनीतिक योजना सार्वजनिक गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले भक्तपुरमा संचालन भईरहेको बिभिन्न सरसफाईसंगै मानिसको व्यक्तिगत र संस्थागत सरसफाई पनि गर्नु आवश्यक रहेको औल्याउनुभयो ।
उहाँले घरघरमा उत्पादन हुने फोहोर मध्ये कुहिने फोहोरलाई प्रत्येक मानिसले घर मै मल बनाएर व्यबस्थापन गरे फोहोर निकै कम हुने बताउदै नगरपालिकाले घरको नक्सापासमा समेत एक आना जग्गा बराबर एक बिरुवा रौप्नै पर्ने नियम बनाउनु पर्नेमा जोड दिनुभयो ।
हनुमन्ते नदी फोहोर गर्ने नगरपालिका नै सफाई अभियानमा नआएको टिप्प्णी गर्दै सांसद बस्नेतले भन्नुभयो–“हनुमन्ते नदीमा ८० प्रतिशत फोहोर गर्ने भक्तपुर नगरपालिका र १० प्रतिशत फोहोर गर्ने मध्यपुरथिमि नगरपालिका हो तर सबभन्दा बढी फोहोर गर्ने भक्तपुर नगरपालिका हनुमन्ते सफाई अभियानमा आएन, यस्तो संकिर्णता पाल्दा हनुमन्ते सफाई अभियानमा चुनौती थपिएको छ ।”
उहाँले गत आ.ब.मा ८० करोड रुपैयाको लागतमा सुरु भएको हनुमन्ते करिडोर चालू आ.ब.मा आउने डेढ अर्ब रुपैयाको लागतमा निर्माण सम्पन्न भएसंगै अबको दुईवर्षमा हनुमन्तेमा सफा पानी बग्ने बताउनुभयो ।
उहाँले सल्लाघरामाी निर्माण हुन लागेको ट्रिटमेन्ट प्लानले भक्तपुर र चाँगुनारायण नगरपालिकाको तथा बालकुमारीमा निर्माण हुन लागेको ट्रिटमेन्ट प्लानले सूर्यविनायक र मध्यपुरको ढल प्रशोधन गर्ने भएका समस्या समाधान हुने भनाई राख्नुभयो ।
उहाँले केही सामाजिक सञ्जालमा विकासको बिरोध गर्दै स्याल हुईया मच्चाएको टिप्पणी गर्दै उहाँले अबको चारवर्षमा भक्तपुरका धूलो नहुने दाबी गर्नुभयो ।
सांसद बस्नेतले भन्नुभयो–“अबको चार वर्षमा सूर्यविनायक नगरपालिका भित्रका सडकमा धूलो उड्दैन, टोलटोलका सडक कालोपत्र हुन्छन्, काभ्रेबाट आउँने गाडीलाई साँगामा धुने वयबस्था गरेपछि यता धूलो आउँदैन, भक्तपुर सफा, हरियाली हुन्छ ।”
उहाँले सूर्यविनायकमा हरियाली अभियान, सरसफाई अभियानसंगै बिभिन्न क्षेत्रमा पार्क, भ्यूटावर, फूल, स्मार्ट सिटी बन्ने बताउनुभयो ।
कार्यक्रममा प्रदेश नं. ३ का सांसद शशीजंग थापाले संघीय, प्रदेश र स्थानीय सरकारले सूर्यविनायकको विकासमा सक्दो टेवा पुर्याएको भन्दै सूर्यविनायक नमूनाको नगरपालिका बन्ने बताउनुभयो ।
कार्यक्रममा अर्का प्रदेश सांसद रजनी जोशी, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, यूएन ह्याबिटेडकी प्रतिनिधी पार्वती दंगाल लगायतले २ वर्षभित्र सूर्यविनायक पूर्ण सरसफाईयुक्त नगरपालिका बन्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले २०७८ सम्ममा सूर्यविनायकको १० वटै वडालाई पूर्ण सरसफाई युक्त र २०७९ मा सिंगो नगरपालिकालाई पूर्ण सरसफाई युक्त नगरपालिका घोषणा गर्ने बताउनुभयो । (तस्विर संलग्न छ ।)