
हेटौंडा, श्रावण ३० । जिल्ला प्रहरी मकवानपुरले २ जनालाई गाँजासहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक कुमार झा को नेतृत्वमा खटिएको प्रहरीको टोलीले बुधबार उनीहरुलाई ५९ किलो ५८० ग्राम लागु औषध गाँजासहित जनालाई पक्राउ गरेको हो । पालुङ्गबाट वीरगञ्जतर्फ जाँदै गरेको बा५ख १८२५ नम्बरको मिनिट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा सो परिणामको गाँजा बरामद गरेको हो ।
चालकको सिटमुनि फल्सबटम बनाई वटा पोका बनाएर लुकाईछिपाई ल्याइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक र गाजासँगै उक्त मिनिट्रकका चालक मकवानपुर कैलाश गाउँपालिका–६ बस्ने बर्ष २० का भीमसेन मोक्तान र उक्त ट्रकमा सवार कैलाश गाउँपालिका–६ का बर्ष २६ का रोशन लामा पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भैरहेको र उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसुर प्रमाणित भएमा निजहरुलाई २ देखि १० बर्षको जेल सजाय र १५ हजार देखि १ लाख सम्म जरीवानाका साथै ट्रक जफत हुनेछ ।