सुर्खेत,३१ श्रावण । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीलाई पदमुक्त गरिएको छ । बिहीबार राति मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खत्रीलाई पदबाट हटाउनु भएको हो । यस विषयमा प्रदेश सरकारले प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी गराइसकेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धु्रब बुढाथोकीले जानकारी दिनुभयो ।
खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा २ को खण्ड ख बमोजिम पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जानाएको छ । बैंकिङ्ग कसुरको अभियोगमा उच्च अदालत पाटनले गएको मंगलबार पक्राउ पुर्जी जारी गनुेका साथै मुख्यमन्त्री शाहीले खत्रीलाई मन्त्रीबाट पदमुक्त गरेर भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसमेत लिनु भएको छ ।
खत्रीसहित ५ जनाले १ करोड ८० लाख ८० हजार रकमको किर्ते बैंक ग्यारेन्टी गरेको आरोप लागेको छ । उनीहरुले एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ को जुन १० मा ५५ लाख ५० हजार र नोभेम्बर ४ मा ५५ लाख ३० हजार बराबरको कीर्ते बैंक ग्यारेन्टी पेश गरेर बैंकलाई हानी नोक्सानी पु¥याएको बैंकले दाबी गरेको छ ।