
भक्तपुर, ३१ साउन : दातृ निकाय र व्यक्ति व्यक्तिको सहयोगमा संचालन हुदै आएको भक्तपुर क्यान्सर अस्पतालमा व्यापक अनियमितता भएको गुनासो बढेपछि भक्तपुर नगरपालिकाले भक्तपुर क्यान्सर अस्पताल व्यबस्थापन समिति खारेज गर्दै नयाँ समिति गठन गरेको छ । नेपाल अबुद्र्ध रोग निवारण संस्थाको नाममा अस्पताल संचालन गरि वर्षौदेखि अध्यक्ष लोकेन्द्र बहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमल कुमार होडाको मिलेमतोमा अनियमितता भएको गुनासो बढेपछि नगरपालिकाले पुरानो समिति खारेज गरि नयाँ समिति गठन गरेको जानकारी दिएको छ ।
नगरपालिकाले नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर जिल्ला क्षेत्र नं. १ का संघीय साँसद प्रेम सुवाल र प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई सल्लाहाकार, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, वडाध्यक्षहरु रविन्द्र ज्याख्व, उकेश कवां र श्यामकृष्ण खत्री सदस्य रहेको समिति गठन गरेको छ । अस्पतालका मेडिकल डाइरेक्टर सदस्य सचिव रहने गरि गठन गरिएको समितिमा नेपाल अर्वुद रोग निवारण संस्था, भक्तपुर शाखाका अध्यक्ष, भक्तपुर क्यान्सर अस्पताल सहयोग समितिका अध्यक्ष र सोही समितिका महिला सदस्य र कर्मचारी कल्याणकारी समितिका प्रतिनिधि पनि सदस्य रहेका छन् ।
समितिमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षकलाई आमन्त्रित सदस्यको रुपमा चयन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो । लोकेन्द्र बहादुर श्रेष्ठ अध्यक्ष रहेको व्यवस्थापन समितिका पदाधिकारीहरुबाट नै आर्थिक अनियमितता र भ्रष्टाचार भएको संचार माध्यम, कर्मचारी र स्थानीयबासिन्दाबाट व्यापक गुनासो आएको र त्यसविरुद्ध स्थानीय जनता तथा अस्पतालका चिकित्सक एवं कर्मचारीहरुबाट संघर्ष भइरहेको जानकारी पाएपछि अस्पताललाई जोगाउन नयाँ समिति गठन गरिएको नगर प्रमुख प्रजापतिले जानकारी दिनुभयो ।
स्थानीय जनताप्रति उत्तरदायी रही विरामीलाई कम शुल्कमा स्तरीय उपचार गर्नुपर्नेमा व्यवस्थापन समितिमा रही केही व्यक्तिहरुले व्यक्तिगत स्वार्थ पूरा गर्न भ्रष्टाचार गरेको र यस विषयमा नगरपालिकाका जनप्रतिनिधिहरुले पटक पटक व्यवस्थापन समितिका पदाधिकारीहरुसंग सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएपछि अस्पतालको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखी नगर कार्यपालिकाले नयाँ व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको उहाँको भनाई छ ।