
भोजपुर,३ भादौ । बर्थीङ सेन्टरमा बच्चा नजन्माए बच्चाको जन्मदर्ता नहुने भएको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे स्वास्थ्य चौकीमा सोमबार बर्थिङ सेन्टरको उद्घाटन भएसँगै यस्तो नियम सुरु गरिएको वडाध्यक्ष गणेशकुमार राईले जानकारी दिनुभएको छ ।
प्रसूति गराउन स्वास्थ्य संस्थामा अनिवार्य रुपमा जान बाध्य बनाउने उद्देश्यले यस्तो नियम लागू गराइएको अध्यक्ष राईको भनाइ छ । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै गर्भवतीले घरमै प्रसूति हुनुपर्ने र प्रसूतिका लागि छिमेकी वडा कोट र गोगने धाउनुपर्ने बाध्यता अन्त्य भएको छ । आफ्नै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि महिला खुशी भएका छन् ।