
२०७६ भाद्र ५, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ भम्केपानीमा निर्माण गरिएको थारू सङ्ग्रहालय भवन बजेट अभावले सञ्चालन हुन सकेको छैन । स्थानीय थारू जनजाति आदिवासी समुदायले बसोबास गर्ने परम्परागत शैलीको घर निर्माण गरिएको झण्डै तीन वर्ष बित्नै लागे पनि सङ्ग्रहालयमा राखिने वस्तुहरुका लागि आवश्यक रकमको व्यवस्था गर्न नसक्दा भवन उद्घाटन हुन नसकेको हो । आव ०७४/७५ को नगरपालिकाको वडा कार्यालयको रु पाँच लाख र स्थानीय बासिन्दाको श्रमदानमा सङ्ग्रहालय भवन निर्माण गरिएको थियो । निर्माण गरिएको भवन गत वर्ष हात्तीको झुण्डले भत्काउँदा निकै क्षति पुगेको थियो । गत वर्ष नै भवन मर्मत गरिएको छ ।