
५ भाद्र २०७६, चितवन । भरतपुर अस्पतालमा विगत १० वर्षमा ९० जना सङ्क्रमित आमाले बच्चा जन्माएका छन् । पाँच जना बच्चामा सङ्क्रमण देखिए पनि ८६ जनामा भने सङ्क्रमण भेटिएको छैन । एक जना आमाले जुम्ल्याहा बच्चा जन्माएकी हुन् ।
भरतपुर अस्पतालमा रहेको एन्टीरेट्रो भाइरल थेरापी (एआरटी) केन्द्रका अनुसार हरेक वर्ष १२ देखि १५ जनाले सुरक्षित बच्चा जन्माउने गरेका छन् । यस्तै सन् २०१९ को ६ महीनामा चार जना आमाले बच्चा जन्माइसकेका छन् । यसै वर्ष चार जना आमा बच्चा जन्माउने तयारीमा रहेका छन्। सङ्क्रमित भएको थाहा भएदेखि नै औषधि सेवन गर्दा औषधिका कारण बच्चामा र श्रीमान् वा श्रीमतीमा समेत समस्या नहुने केन्द्रका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले जानकारी दिनुभयो ।