
८ भाद्र २०७६, काठमाडौ । एनआइसी एसिया ब्यालेन्स्ड फन्डमा आवेदन दिने आज भदौ ८ गते अन्तिम दिन हो । यसअघि निर्धारित समयमा सबै इकाई बिक्री नभएपछि दोस्रो पटक म्याद थप गरी आइतबारसम्म पुर्याइएको हो । एनआइसी एसिया क्यापिटलले साउन ८ गतेदेखि ‘एनआइसी एसिया ब्यालेन्स्ड फन्ड’ नाममा १२ करोड ५० लाख इकाई निष्कासन गरेको हो । यसमध्ये सर्वसाधारणले १० करोड ६२ लाख ५० हजार इकाईका लागि आवेदन दिन सक्नेछन् । यस्तै, बिज पुँजी बापत १ करोड ७५ लाख इकाई कोष प्रवद्र्धक एनआइसी एसिया बैंक र १२ लाख इकाई कोष व्यवस्थापक एनआइसी एसिया क्यापिटललाई सुरक्षित गरिएको छ ।
सर्वसाधारणले प्रतिइकाई १० रुपैयाँका दरले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ७५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले एनआइसी एसिया क्यापिटलको कार्यालय र सी–आस्वामार्फत आवेदन दिन सक्नेछन् । एनआइसी एसिया क्यापिटललको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फन्ड हो । अहिले एनआइसी एसिया ग्रोथ फन्ड सञ्चालनमा छ ।