हामीसँग जोडिनुहोस

मिर्गौलाका बिरामी निःशुल्क औषधिमा शुल्क तिर्न बाध्य

2 मिनेट

२३ भक्तपुर २०७६ । मिर्गौला पीडित बिरामीले घरमै बसेर पेटमा पाईपको माध्यमबाट औषधियुक्त पानी प्रवेश गराई मिर्गौला डायलोसिस गर्ने औषधिमा कालोबजारी भएपछि बिरामीले बढी मूल्य तिर्नबाध्य भएका छन्। भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा मिर्गौला पीडितहरुले सरकारले निःशुल्क भनेको डाईलोसिस सेवा लिन आफूहरुले बढी रकम तिरेर कालोबजारिमा औषधि किन्नु परेको गुनासो गरेका छन्। सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्रेताले बिरामीलाई औषधि नदिइ औषधिमा मूल्य बृद्धि गरेपछि बिरामीले बाध्य भएर मंहगोमा औषधि किनेर डायलोसिस गर्नु परेको गुनासो गरेका हुन् ।
मिर्गौला पीडित सरोकार समाज नेपालका अध्यक्ष बलराम सुवेदीले सरकारले गत साउन २६ गते घरमै बसेर मिर्गौलाको डायलोसिस गर्ने प्रविधि सिएपिडि फ्युडको मूल्य प्रति प्याकेट रु. ४०८ निर्धारण गरेको तर बिक्रेताले रु.४३० भन्दा घटेर नदिएपछि बिरामीले बाध्य भएर औषधिमा बढी मूल्य तिर्नुपरेको बताउनुभयो। उक्त औषधि आयात गरी बिक्री गर्ने नेपालको एक मात्र बिक्रेता डिके मेडी सेल्सले सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसक्ने भनेर बिक्री रोके पछि ज्यान जोगाउन बाध्य भएर बिरामीले पैसा तिर्नु परेको उहाँले बताउनुभयो। शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र भक्तपुरबाट स्वीकृत पत्र लिएर विक्रेताबाट निःशुल्क औषधि लिदै आएका बिरामीले औषधि नपाए पछि सोझै कम्पनीसंग सरकारले दिने रकमबाट प्रति प्याकेट थप रु. २२ तिरेर औषधि किन्नु परेको सुवेदीले बताउनुभयो। प्रति बिरामी दैनिक ३ प्याकेट औषधि लाग्नेमा निःशुल्क प्राप्त हुनुपर्ने औषधिलाई बिरामीले दैनिक रु. ६६ का दरले मासिक रु. १ हजार ९८० थप रकम तिर्नुपरेको बताउँदै अस्पतालबाटै निःशूल्क औषधि दिने व्यवस्था गर्न सरकारसंग बिरामीले माग गरेका छन्। मिर्गौलाको उपचार हुँदै आएको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले यहाँबाट औषधिको व्यवस्था गर्न नसक्ने भन्दै सबै बिरामीलाई पत्र पठाउँदै केन्द्रका प्रमुख डा. पुकारचन्द्र श्रेष्ठ सम्मिलित आरोग्य फाउण्डेसनद्वारा संचालित निदान अस्पतालमा पठाएपछि बिरामीले थप मूल्य तिर्नुपरेको गुनासो गरेका छन् ।
बिरामीले बिक्रेताबाट मंहगोमा औषधि किनेर निदान अस्पतालमा जानुपर्ने बाध्यता आएको र निदानले पनि उपचार गर्न नसक्ने भनेर केहीदिन यता बिरामीलाई फर्काईदिए पछि बिरामीहरु अलपत्र परेको मिर्गौला पीडित बि.के. पाल्पालीको पत्नी रेनुका भट्टराईले बताउनुभयो। सरकारले भक्तपुरको शहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रबाटै औषधि दिने व्यवस्था गरिदिए मिर्गौला पीडितले राहत पाउने बताउँदै औषधिको मूल्यमा भएको असमानता तत्काल हटाई बिरामीलाई कालो बजारीबाट औषधि किन्नुपर्ने बाध्यताबाट मुक्त गरिदिन आग्रह गर्नुभयो। मिर्गौला पीडित सरोकार समितिले स्वास्थ्य मन्त्रालयमा मन्त्री उपेन्द्र यादवलाई भेट गरी समस्याकोबारेमा जानकारी गराउँदै थप रकम तिर्नुपर्ने बाध्यता हटाउन माग गरेपनि बिरामीको माग सम्बोधन नभएको समितिका अध्यक्ष सुवेदीले गुनासो गर्नुभयो। एकसातासम्म बिरामीको माग सम्बोधन नभए मिर्गौला पीडितहरुले स्वास्थ्य मन्त्रालयमा धर्ना दिई आन्दोलन गर्ने उहाँले बताउनुभयो। पत्रकार सम्मेलनमा मिर्गौला बिरामी कोपिला बस्नेतले बिरामीलाई औषधि किन्न धोवीघाट जानुपर्ने र उपचारका लागि निदान जानुपर्ने बाध्यता हटाउँदै भक्तपुरबाटै औषधि र उपचार दिने व्यवस्था मिलाईदिन आग्रह गर्नुभयो।
औषधि बिक्रेताका प्रतिनिधि संजय अधिकारीले भने सरकारले निर्धारण गरेको मूल्यमा औषधि दिन नसकिने भएकाले बाध्य भएर मंहगोमा औषधि बिक्री गर्नुपरेको बताउनुभयो। उहाँले सरकारले निर्धारण गरेको मूल्यमा औषधि बिक्री गर्न नसकिने बताउँदै बाध्य भएर बिरामीसंग बढी रकम लिनु परेको बताउनुभयो। मेशिनबाट गराउने हेमोडायलोसिस भन्दा यो प्रबिधि सहज भएको भन्दै हाल १७० भन्दा बढी बिरामीले यो प्रबिधिबाट मिर्गौलाको डायलोसिस गराउँदै आएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।