
२३ भाद्र २०७६, काठमाडौं । लेखक डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । ढकाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का भक्तपुर जिल्ला सचिव समेत रहेका अर्थ राजनीतिमा गहिरो अध्ययन गरेका युवानेता हुन्। पुस्तकमा विश्वमा विकास भएका अर्थनीति र त्यसको प्रभावलाई उधिनिएको छ । राजधानीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषाल, विश्लेषक हरि रोका, त्रिभुवन विश्वविद्यालयकी प्राध्यापक कुसुम शाक्य, समाजशास्त्री युवराज लुइँटेलले संयुक्तरूपमा उक्त पुस्तक सार्वजनिक गर्नुभयो। कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस्तकले विश्वको अर्थनीतिका बारेमा उत्खनन् गरेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘राजनीतिक सँगसँगै ढकालले विश्व नियाल्ने राम्रो पुस्तक लेख्न सफल हुनुभएको छ ।’ उहाँले आफू जीवित छँदै विश्वलाई नेपाली समाजवादको मोडल प्रस्तुत गर्ने जिकिर गर्नुभयो। कार्यक्रममा प्रचण्डले आम नेता कार्यकर्तालाई समेत समाजवादको बाटोमा लाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘नेपालमा समाजवादी मोडल कस्तो हुने भन्ने ग्रेट डिबेटमा हामी छौँ । अन्य देशले अबलम्बन गरेका मोडल हामी सजिलै भन्न सक्छौँ । तर हामीले २१ औँ शताब्दीमा कस्तो मोडल प्रस्तुत गर्ने भन्ने कुराको बहसमा हामी छौँ ।’ उहाँले दलाल पूँजी र नोकरशाही पूँजीवादका अघि आत्मसर्मपण गर्छौं वा समाजवादी दिशामा अघि बढ्छौँ भन्ने लडाईं जारी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘नेपालबाट नयाँ समाजवादी मोडल दिन सक्छौँ ।
नेकपाका ९, १० लाख कम्युनिस्ट कार्यकर्ताको बीचमा हुने ग्रेट डिबेटले नयाँ मोडल दिन सक्छ । हामीले हिम्मत हार्नु हुँदैन ।’ कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य तथा ऊर्जामन्त्री वर्षमान पुनले पुस्तकले विश्वबजारलाई नियाल्न सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले पुस्तकमा समाज रूपान्तरणमा अर्थनीतिको भूमिकालाई लेखकले अध्ययन गरेर केलाएको बताउनुभयो। नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले अबको समाजवादी बाटोको रूपरेखा कोर्न कम्युनिस्ट पार्टी लाग्नुपर्ने धारणा राख्नुभयो। उहाँले पुस्तकले विश्वको अर्थ राजनीतिलाई केलाउने कोसिस गरेका विचार व्यक्त गर्नुभयो। विश्लेषक हरि रोका, प्राध्यापक कुसुम शाक्य तथा समाजशास्त्री युवराज लुइँटेलले पुस्तकले देशले अबलम्बवन गर्नुपर्ने अर्थनीतिलाई केलाएको धारणा राख्नुभयो। लेखक ढकालले पुस्तकमा विश्वका पूँजीवादी तथा समाजवादी देशहरूले अवलम्बन गरेको अर्थराजनीति र नेपालको तुलनात्मक अध्ययन गरी प्रस्तुत गरेका छन्। अर्थराजनीतिका विद्यार्थीका लागि संग्रहणीय ठानिएको पुस्तक जागरण मिडियाले प्रकाशन गरेको हो।
अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक व्यक्तित्वदेखि अध्येताका पुस्तक निकै उपयोगी हुने लेखक ढकालले बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थराजनीतिका विद्यार्थीलाई पुस्तक निकै उपयोगीसिद्ध हुने विश्वास लिएको छु।’ कूल ४०७ पृष्ठ रहेको पुस्तकमा समाजवादी राष्ट्र सोभियत संघ, चीन र क्युवादेखि पूँजीवादी देश अमेरिका, स्वीट्जरल्यान्ड र भारतसम्मको अर्थ राजनीतिक विकासक्रमबारे स–विस्तार चर्चा गरिएको ढकालले जानकारी दिनुभयो।