
२३ भाद्र २०७६, भक्तपुर । पातञ्जल योग समिति नेपाल भक्तपुरले एक कार्यक्रमको आयोजना गरी २ सय योग प्रशिक्षकलाई प्रमाणपत्रद्वारा दिक्षित गरेको छ । भक्तपुर एवं बाहिरी जिल्लाका योग साधना केन्द्रहरुबाट छनौट गरी निश्चित समयावधि भित्र प्रशिक्षित गराई उर्तिण भएका प्रशिक्षार्थीहरलाई मात्र दिक्षित गरिएको जिल्ला अध्यक्ष योग प्रसाद आचार्यले जानाकारी दिनुभयो। भक्तपुर जिल्ला भित्र योगको शुभारम्भ गरिएको शुभकामना सामूहिक योग साधना केन्द्रको १३ औं स्थापना दिवस कार्यक्रमलाई पनि जोड्दै बालकृष्ण प्रधानको अध्यक्षतामा पुर्णमाया बासुकला उपाध्यक्ष, मनिषा भुजु सचिव,कृष्णप्यारी सुवाल कोषाध्यक्ष एवं असलमाया सुवाल, विन्द्रा वल्ल, लक्ष्मीकेशरी चिकंवन्जार, कमला केसी, विष्णुकेशरी नागा, मैया वल्ल, रामलक्ष्मी त्वाएना सदस्यहरु रहेको ११ सदस्यीय पातञ्जल भक्तपुर नगरसमिति सर्वसम्मत चयन गरिएको जिल्ला सचिव श्रृजनामल्ल ठकुरीले समयसमाज साप्ताहीकलाई अवगत गराउनु भयो।
कार्यक्रममा पातञ्जल योग समिति नेपालको संस्थागत विधान अनुरुप २५ हजार शुल्क बुझाई प्रदेश ३ का माननीय रजनी जोन्छे सहित २० जना पातञ्जल योग प्रेमीहरुबाट आजिवन सदस्यता ग्रहण गर्नुभएको केन्द्रिय कोषाध्यक्ष जानुकादेवी भट्टाराईले जानाकारी दिनुभयो। जोन्छेले पातञ्जलले योगजागरण अभियान शुभारम्भ गरेकोमा खुशी प्रकट गर्दै प्रदेश नं ३ सरकार र आफ्नोतर्फबाट सहयोग जुटाउन क्रियाशिल रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी पातञ्जल योग समिति नेपालका संरक्षक एवं योग जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष बालमुकुन्द सुवालले जिल्लाभरका सबै यौगिक संस्थाहरुसँगको समन्वय र सहकार्यबाट योग जिल्ला घोषित भक्तपुरलाई योगमय बनाउनतर्फ सबै एकजुट भई अघि बढ्नुपर्ने आवाश्यकता रहेको धारणा राख्नुभयो।
पातञ्जल योग समिति नेपालका केन्द्रीय अध्यक्ष सुर्दशन सुवेदीले दिक्षित योग प्रशिक्षार्थीहरुलाई आ–आफ्नो भूगोलमा केन्द्रित बनी संस्थागत मूल्यमान्यता एवं आचारसंहिताको परिधिभित्र रहि योगजागरण अभियानमा कृयाशिल हुन अपिल गर्नुभयो ।