
२३ भाद्र २०७६, भक्तपुर ।
https://youtu.be/yJYlzFTWpzE
नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी आज बिहान भक्तपुर दरबार स्क्वायर जानुभएको थियो । सामान्य पर्यटक जसरी बनेर उहाँले भक्तपुर दरबार क्षेत्र, न्यातपोल मन्दिर, दत्तात्रय मन्दिर लगायतका ठाउँहरु अवलोकन गर्नुभयो ।
उहाँले भक्तपुर क्षेत्रमा ऐतिहासिक सम्पदालाई आफैंले आफ्नो क्यामरामा कैद गर्नुभयो । चिनियाँ विदेशमन्त्री वाङ यीको आग्रहअनुसार भक्तपुर क्षेत्र अवलोकन भ्रमण गरेको तस्वीर नखिच्न पत्रकारलाई सुरक्षाकर्मीहरुले आग्रह गरेका थिए ।
विदेशमन्त्री वाङको भनाइ उद्धृत गर्दै एक सुरक्षा अधिकारीले भने, ‘मलाई सामान्य पर्यटकजस्तै गरी भक्तपुर घुम्न दिनुस् । मेरो फोटो खिच्नु पर्दैन ।’ भक्तपुर घुम्न पाउँदा अत्यन्त खुसी लागेको र यहाँका ऐतिहासिक सम्पदा देखेर रमाइलो लागेको विदेशमन्त्री वाङले बताउनुभएको थियो ।
उहाँको साथमा चिनियाँ राजदूत होउ याङ्छी लगायत भ्रमण दलका अन्य सदस्य पनि थिए । विदेशमन्त्री वाङले सामान्य नागरिक भएर पर्यटकीय क्षेत्र घुम्ने इच्छा गरे पनि उहाँका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो । यद्यपि स्थानीयबासीलाई कुनै रोकतोक गरिएको थिएन । चिनियाा विदेशमन्त्री वाङ गत आइतबार तीनदिने नेपाल भ्रमणमा आउनुभएको थियो । नेपाल आएलगत्तै उहाँले चन्द्रागिरि केबलकारको पनि भ्रमण गरेका थिए । उहाँल हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्टमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गर्नुभएको थियो ।