
https://www.youtube.com/watch?v=0wJCm55zhRg&feature=youtu.be
२४ भादं २०७६ ।
नेपाली काङ्ग्रेसको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण मंगलबारदेखि मुलुकभर एकसाथ प्रारम्भ भएको छ ।
जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको दिवस पारेर जागरण अभियान मंगलबार प्रारम्भ भई आगामी असोज ७ गते समापन हुने कांग्रेसले जनाएको छ । जागरण अभियानको दोस्रो चरणमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिने पार्टी कार्यालयले जनाएको छ । जसअनुसार मंगलबार बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरूप १०६ बिरूवा प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चित स्थलमा वृक्षरोपण गरेर अभियानको देशव्यापीरूपमा उद्घाटन गरिएको छ । अभियानमा पार्टी सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य रहेको कांग्रेसले जनाएको छ । अभियानका लागि काङ्ग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक÷एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाइएको छ ।
जागरण अभियानका क्रममा पार्टीका केन्द्रीय प्रतिनिधि र अन्य नेताकार्यकर्ता अहिलेको स्थिति बुझ्न पार्टीका अग्रज, तथा शहीद परिवारप्रति श्रद्धा प्रकट गर्न उनीहरुको घरमा पुग्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिनेछ । साथै काङ्ग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरूप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि अन्तक्र्रिया हुने बताइएको छ ।
जागरण अभियानको अवधिमा पर्ने संविधान दिवस असोज ३ गते विभिन्न कार्यक्रम गर्ने, जागरणको अन्तिम दिन असोज ७ गते बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, अलोकतान्त्रिक भनिएका विधेयक र कुशासनका विरुद्ध जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गरिने काग्रेसले जनाएको छ । यसअघि काङ्ग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुने पार्टी कार्यालयले जनाएको छ ।