
कोलकाता, भदौ ३० । उड्न लागेको विमानमा मौरीले हमला गर्दा यात्रीले तीन घण्टाभन्दा बढी समय सास्ती व्यहोर्नु परेको छ ।
भारतको कोलकातास्थित विमानस्थलमा आइतबार एयर इन्डियाको एउटा विमानमा मौरीले हमला गरेको हो ।
उडानका लागि रनवेमा विमान पुगिसकेपछि मौरीको झुण्ड विमानको अघिल्लो भागमा आएर बसेपछि पाइलटले उडान रोकेका हुन् । मौरी बसेकै अवस्थामा विमान उडाउँदा इन्जिनभित्र मौरी पस्न सक्ने र जोखिम निम्तिन सक्ने भएपछि पाइलटले ‘एयर कन्ट्रोल रुम’मा जानकारी गराएका थिए ।
उक्त विमानलाई पुनः ‘ट्याक्सी वे’ मा फिर्ता ल्याएर दमकलको सहायतामा मौरी भगाइएको थियो ।
प्राविधिकहरुले विमानको इन्जिनभित्र मौरी पसे–नपसेको जाँच गरेपछि मात्र उक्त विमान निर्धा्रित गन्तव्यतर्फ उडेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विमान निर्धा्रित समयभन्दा तीन घण्टाभन्दा बढी ढिलोगरी प्रस्थान गरेको बताइएको छ ।