
६ असोज २०७६ । वेभ फिजिकल फिटनेसका जयराम त्वायना शारीरिक सुगठन प्रतियोगिताअन्तर्गतको मिस्टर भक्तपुर बन्न सफल भएका छन् । भक्तपुर जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघद्वारा आयोजित मिस्टर भक्तपुरको चौथो संस्करणको उपाधि जित्दै जयरामले नगद ५० हजारसमेत हात पारेका छन् ।
प्रतियोगिताको ग्राण्ड फिनालेमा चार स्वर्णपदकधारीहरुलाई पछि पार्दै ७० केजीभन्दा माथिको तौल समूहका स्वर्ण पदक विजेता जयराम मिस्टर भक्तपुरको उपाधि चुम्न सफल भए । उक्त स्पर्धामा ७० केजी तौल समूहका स्वर्णपदक विजेत अमितकुमार मण्डल उपविजेता बने । अजिमा फिजिकल फिटनेसका मण्डलले २५ हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाए ।
त्यस्तै ६५ केजी तौल समूहका स्वर्णपदक विजेता रामचन्द्र तामाङ तेस्रो, ६० केजी तौल समूहका विजेता नितेश श्रेष्ठ चौथो र ५५ केजी तौल समूहका विजेता दिवेक अवाल पाँचौं भए ।
अल्टिमेट फिटनेस कनेक्सनका रामचन्द्र, नितेश र दिवेकले क्रमशः नगद पुरस्कार २० हजार, १५ हजार र १० हजार रुपैयाँ जिते ।
त्यस्तै अजिमा फिजिकल फिटनेसकी सनम मूलगुठीले पहिलो महिला एथ्लेटिक्स फिजिक्सको उपाधि जितेकी छन् । आठ जना महिला प्रतियोगीहरूलाई पछाडि पार्दै उपाधि जितेकी उनले नगद २५ हजार रूपैयाँसमेत हात पारिन् ।
उक्त स्पर्धामा वेभ फिजिकल फिटनेसकी जस्मिन लामा दोस्रो भइन् । उनले १५ हजार रुपैयाँ नगद पुरस्कारमै चित्त बझाइन् । त्यस्तै वेभकै यशोदा थापा तेस्रो भइन् । उनले १० हजार रुपैयाँ नगद पुरस्कार हात पारिन् । उक्त स्पर्धामा अल्टिमेटका अञ्जली श्रेष्ठ र सृजना घिसिङ क्रमशः चौथो र पाँचौं भए ।
स्पर्धामा विजेतालगायतलाई मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र उपप्रमुख अञ्जनादेवी मधिकर्मीले प्रमाण–पत्र, शिल्ड, मेडल तथा नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा विभिन्न विधामा उपाधि जितेका प्रतिस्पर्धीहरूलाई निक भुजिकिक तथा शिवशिखर कृषि सहकारीले प्रोत्साहनस्वरूप नगद पुरस्कारको व्यवस्था गरेका थिए ।
आयोजक संघका अध्यक्ष बाबुकाजी मानन्धरले संघले यसअघि तीनपटकसम्म जिल्लास्तरीय प्रतियोगिता आयोजना गरिसकेको जानकारी दिए । त्यस्तै करिब २५ वर्ष रोकिएको मिस्टर भ्याली गत वर्ष सम्पन्न गरिएको उनको भनाइ थियो ।
संघले २०५४ सालमा प्रथम मिस्टर भक्तपुर आयोजना गरेको थियो ।
उक्त स्पर्धाको उपाधि रोशन मानन्धरले जितेका थिए । त्यस्तै २०६९ सालमा आयोजित दोस्रो मिस्टर भक्तपुरको उपाधि भने नरेश दिवाकरले जित्दा २०७१ सालमा भएको तेस्रो मिस्टर भक्तपुरको उपाधि रामेश्वर कुसीले चुमेका थिए ।