
https://youtu.be/BOpRJB6mGZU
प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले हुनसक्ने आपराधिक घटना, चोरी लगायत नियन्त्रण गर्न निर्देशन दिएको हो । लामा, छोटा दूरीका सवारीमा सरकारले तोकेभन्दा बढी भाडा लिए कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । सडकको अवस्थाका बारेमा बेलैमा ध्यान दिई सवारी दुर्घटनालगायत हुनसक्ने घटना नहुने व्यवस्था मिलाउन सरोकार भएका निकायसँग समन्वय गरी काम गर्न पनि समितिले भनेको छ । भारतमा काम गर्न जाने नेपालीले ल्याउने रु ५०० र रु १००० का नोट नचल्दा चाडबाडमा समस्या हुने भएकाले साट्ने व्यवस्था मिलाउन पनि सरोकार भएका निकायलाई निर्देशन दिइएको सभापति श्रेष्ठले बताउनुभयो । बैठकमा गृहमन्त्री रामबहादुर थापाले चाडबाडका समयमा देशैभरको शान्ति सुरक्षा सृदृढ गराइने बताउनुभयो । सर्वसाधारणको यात्रा सुरक्षित बनाउन र शान्ति सुव्यवस्था कायम गर्न गृह मन्त्रालय चुस्त रहेको पनि उहाको भनाई छ ।
बैठकमा उपस्थित गृहसचिव प्रेमकुमार राईले चाडपर्वका बेला सवारी साधनमा हुने हिंसा र लुटपाटका घटनालाई न्युनिकरण गर्न तयार रहेको बताउनुभयो ।
उहाले पाँच सय र एक हजार रुपैयाँको भारतीय नोट नेपालमा नचल्ने भएकाले त्यस्ता नोटबारे के गर्ने भन्नेमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले अझै प्रष्ट नपार्दा समस्या भएको बताउनुभयो ।