
९ असोज २०७६ , भक्तपुर। भूकम्पले भत्काएको भक्तपुर दरबार स्क्वायर क्षेत्रको फसिदेगः अर्थात् शिलु महादेवको मन्दिर अझै पुनर्निर्माण भएको छैन । मन्दिर पुनर्निर्माणका लागि पुरातत्व विभागले तीन वर्षअघि नै ठेक्का लगाएको थियो । तर, मन्दिर कस्तो बनाउने भन्ने नै टुंगो नलगाई ठेक्का लगाएपछि म्याद सकिँदासमेत विभागले मन्दिरको नक्सा नै तयार गर्न सकेको छैन । पुनर्निर्माण हुने मन्दिरको डिजाइन कस्तो हुने भन्नेमै समस्या रहेको विभागअन्तर्गतको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख मोहनसिंह लामाले बताउनुभयो ।
शिखर शैलीमा इँटाले बनेको सो मन्दिर १९९० को भूकम्पले भत्काएको थियो । स्थानीयका अनुसार भुकम्पले भत्काउनुअघि मन्दिरको चारै ढोकामा झिंगटीको पाली राखिएका थिए । राजा जगतप्रकाश मल्लले वि।सं। १७०७ मा बनाएको यो मन्दिर शिखर शैलीको अग्लो मन्दिरका रूपमा परिचित छ । ०९० को भूकम्पले भत्काएपछि फरक शैली र कम लागतमै निर्माण भएको मन्दिर ०७२ को भूकम्पबाट पुनः क्षतिग्रस्त बन्यो । मन्दिर पुनर्निर्माण गर्दा ०९० सालअघिको शैली अपनाउनुपर्ने अडान नगरपालिकाले राखेपछि विभागले त्यसैअनुसार ठेक्का लगाएको कार्यालयका प्रमुख लामाले बताउनुभएको छ ।