
१७ असोज २०७६ । नेकपा मालेका महासचिव सि.पि. मैनालीले देशको राष्ट्रियता संकटमा रहेको बताउनु भएको छ ।
नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमलविनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले देशभक्त, प्रगतिसिल, वामपन्थी, राष्ट्रवादीहरु एकमत भएर नलागे देशको राष्ट्रियता जोगाउन कठिन हुने बताउनु भएको हो ।
मैनालीले वर्तमान सरकारले मंहगी र भ्रष्टाचार रोक्न नसकेको बताउदै मुलुकमा संघीयता संकटमा परेको र संघीयताले भ्रष्टाचार बढाएको आरोप लगाउनुभयो ।
अहिले देशी विदेशी शक्तिहरुले राष्ट्रियता माथि प्रहार गरिरहेको बताउदै सरकार र सबै दल मिलेर त्यस्ता प्रहारको सामाना गर्नु पर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा नेकपा ३ नं. प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुईतिहाईको सरकारले घोषणा पत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताको भन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिनुभयो ।