
रमेश गिरी
१८ असोज २०७६, भक्तपुर । प्रतिनिधीसभाका सांसद एवं पूर्व उद्योगमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिका ४ दधिकोट चित्रपुरका ९८ घर परिवारलाई लालपूर्जा वितरण गर्नु भएको छ ।
सूर्यविनायक वडा नं. ४ दधिकोट कार्यालयले आज दधिकोटको चित्रपुरमा आयोजना गरेको लालपूर्जा वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेतले लालपूर्जा बिहिन परिवारलाई लालपूर्जा वितरण गर्नु भएको हो । सयौवर्षदेखि चित्रपुर बस्तीको रुपमा रहेको परम्परागत उक्त बस्तीका बासिन्दाले अहिलेसम्म लालपूर्जा बिहिन हुँदा आफ्नै जग्गा र घरको भोग चलन गरेपनि अन्य प्रयोजनका लागि उपयोग गर्न पाएका थिएनन् । भूकम्पमा सिंगो बस्ती भत्किदा समेत राहत लिन निकै समस्या परेको यहाँका बासिन्दाले अहिले भूकम्पबाट भतिकएका घरहरु बनाए पछि भने लालपूर्जा पाएका छन् ।
लालपूर्जा वितरण गर्दै सांसद बस्नेतले गतनिर्वाचनमा यहाँका लालपूर्जा बिहिन बासिन्दालाई लालपूर्जा दिलाईदिने प्रतिबद्धता व्यक्त गरेअनुसार आफ्नै पहलमा लालपूर्जाको व्यबस्था गरि आज वितरण गरि आफ्नो घोषणा साकार पार्न सफल भएको बताउनुभयो ।
बस्नेतले भन्नुभयो–“स्थानीय बासिन्दाको लागि पनि नसोचेको काम पुरा गरेका छौ, वर्षौदेखिको स्थानीयको सपना साकार पार्न सफल भएका छौ, मलाई लाग्छ, यसरी स्ववासीलाई जग्गा वितरण गरेको यो नेपाल मै पहिलो घट्ना हो ।”
जनताको घरमा सिंहदरबार आएन भन्नेहरुले यसैलाई सिंहदरबार बुझ्न आग्रह गर्दै उहाँले यसैगरि शुसासन आउने भनाई राख्नुभयो । सांसद बस्नेतले राहत पाउनलाई नेकपा हुनुपर्छ भन्ने गलत मानसिक राख्न नहुनेमा जोड दिदै भोट आफ्नो विवेकले हाल्ने भएपनि लालपूर्जा वितरण देखि विपदमा राहत वितरणमा कुनै दल हेरेर विभेद नगरेको बताउनुभयो ।
उहाँले लालपूर्जा पाएपछि अब आफ्नै घर धितो राखेर छोराछोरी पढाउनदेखि व्यबसाय गर्न समेत बाटो खुलेको चर्चा गर्नुभयो । चित्रपुरमा क्रसरोड बनाउन लागेकोचर्चा गर्दै सांसद बस्नेतले ललितपुरको बालकुमारीदेखि बालकोट, चित्रपुर हुदै शिकारीटार, अनन्तलिङ्गेश्वर मन्दिर, कालिकाडाडा हुदै रानीकाटेसम्म जाने सूर्यविनायक नगरपालिकाको मुख्य सडक बन्न लागेको बताउनुभयो । यसका लागि आफ्नो पहलमा ३६ करोड बजेट विनियोजन गराएको बताउदै संघ, प्रदेश र स्थानीय तह तीनवटै निकायको पहलमा काम सम्पन्न गर्न दशै पछि टेण्डर भएर सडक निर्माणको काम सुरु हुने बताउनुभयो । उहाँले प्रदेश सरकारले सल्लाघारीबाट लुभु जाने फिडर सडक निर्माण गर्न बजेट विनियोजन गराउन सफल भएको छ भन्दै यसका लागि यसवर्ष प्रदेश सरकारले थप ४ करोड रुपैया बजेट हालेर कटुञ्जेबाट गाम्चा चित्रपुर हुदै सिरुटार र ललितपुरको लुभु जाने सडक निर्माण हुन लागेको बताउनुभयो । चित्रपुरको लागि मात्रै यसवर्ष पुर्ननिर्माण प्राधिकरण मार्फत चित्रपुर, किवाचो, धन्सार, पकाण्डोल, ख्यूटोल लगायत परम्परागत बस्ती भएको ठाउँमा सम्पदा बस्तीको विकासका लागि ५ करोड रुपैया थप बजेट आउने भएको बताउनुभयो ।
भक्तपुरदेखि थानकोटसम्मको खण्डको बाहिरी चक्रपथ निर्माण हुन लागेको भनाई राख्दै सांसद बस्नेतले भन्नुभयो–“उपत्यकाको काठ क्षेत्रलाई समेटेर निर्माण हुन लागेको चक्रपथले ५० मिटरको चौडाई सडक र दायाँबाया २५०–२५० मिटरको शहर बन्दैछ, यसले सूर्यविनायक र चाँगुनारायण मात्रै नभई उपत्यकाको ग्रामिण एवं काठ क्षेत्रको मुहार फेर्नेछ ।”
कार्यक्रममा ३ नं. प्रदेशका सांसद शशीजंग थापाले भक्तपुरमा विकासको मूल फुटेको बताउदै संघ, प्रदेश र स्थानीय तहको बजेटले दुईवर्षको अन्तरालमा गाउँ गाउँमा विकासका लहर आएको बताउनुभयो ।
त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले जिल्लामा पिछडिएको सूर्यविनायक नगरपालिकाले दुईवर्षमा विकासमा निकै लामो फड्को मारेको र अबको तीनवर्षमा विकासले पूर्णता पाउने बताउनुभयो । कार्यक्रममा वडा नं. ४ दधिकोटका अध्यक्ष उत्तम थापा लगायत बिभिन्न व्यक्तिहरुले विकासका् गतिलाई रोक्न र अबरोध पुर्याउन नहुनेबारे चर्चा गर्नुभएको थियो ।