हामीसँग जोडिनुहोस

कैदीको दसैं फुटबल प्रतियोगिता गर्दै, विजेतालाई खसी उपहार

3 मिनेट

१९ असोज २०७६ ।
दसैं आउन एक महिना अघिदेखि नै केन्द्रीय कारागार सुन्धाराका कैदीहरू दिनभर फुटबल खेल्ने व्यस्त हुन्छन्। अघिपछि फाट्टफुट्ट फुटबल खेल्ने कैदीहरू दसैंको एक महिना अघिबाट भने दिनहुँ फुटबलको अभ्यास गरिरहेका हुन्छन्।
कुनै महत्वपूर्ण प्रतियोगिता अघि फुटबलका दिग्गज क्लबहरूले अभ्यास गरेजस्तो दसैंको एक महिनाअघिदेखि अभ्यास गरिरहेका हुन्छन् केन्द्रीय कारागारका कैदीहरू।
विभिन्न टिम बनाएर टिम क्याप्टेनले भनेझैं उनीहरू अभ्यास गरिरहेका हुन्छन्। यो तयारी कारागार बाहिर हुने फुटबल प्रतियोगिता खेल्नका लागि भएको होइन। कारागारको चौघेराभित्रै हुने फुटबल लिग प्रतियोगिताको भाग लिनका लागि हो।
परिवारका सदस्य एकै ठाउँ जम्मा हुने, टिका लगाउने, खसी काट्ने, साथीभाइ भेटघाट गर्ने, पिङ खेल्ने, रमाइलो गर्ने। अक्सर नेपालीको दसैं यसैगरी बित्छ। तर, कैदीहरुले यो मौका पाउँदैनन्।
त्यसैले आम नागरिकको भन्दा कैदीहरूको दसैं भिन्न छ। हरेक वर्षजस्तो यस वर्ष पनि केन्द्रीय कारागारमा दसैंको अवसरमा फुटबल प्रतियोगिता चलिरहेको छ। ४४ रोपनी क्षेत्रफल ओगटेको केन्द्रीय कारागारमा अस्पतालदेखि फुटबल, भलिबल मैदान, स्कुल(कलेज, जिम हलसम्म भित्रै छ। जहाँ दसैंको अवसरमा फुटबल सलग प्रतियोगिता हुन्छ। अहिले पनि कारागारमा फुटबल लिग प्रतियोगिता भइरहेको कारागारका सहायक जेलर गोकर्ण खनाल बताउँछन्।
यसवर्ष कैदीका विभिन्न विभागका २५ टोलीले प्रतिस्पर्धा गरिरहेका छन्। ‘नयाँ भवन बनाउँदै गरेका केही डिस्टर्ब हुने गरेको कैदीको गुनासो छ,’ जेलर खनाल सुनाउँछन्, ‘पहिलाको भन्दा केही सानो मैदान भए पनि यसवर्ष निकै उत्साहका साथ फुटबल प्रतियोगिता भइरहेको छ।’
विभन्न अपराधमा कैद भुक्तान गरेकाले खेल्ने क्रममा झै–झगडा हुनसक्ने भन्दै प्रहरीले पनि निगरानी बढाउने गरेको छ। तर, अन्य खेलाडी जस्तै अनुशासनमा रहेर अहिलेसम्म फुटबल प्रतियोगिता भइरहेको खानल बताउँछन्।
फुटबल लिग प्रतियोगितामा उपहारको समेत व्यवस्था हुने गरेको छ। यसपाली प्रथम हुने टिमलाई खसी उपहार र प्रमाणपत्रको व्यवस्था रहेको कारागार स्रोतले जानकारी दियो। यसरी उपहार दिने पैसा कैदीलाई कहाँबाट आउँछ? यसबारे सहायक जेलर खनाल भन्छन्, ‘यो कारागारले उपलब्ध गराएको होइन। दसैं खर्च वापत ३ सय रुपैयाँ भत्ता मात्रै दिने हो। उनीहरू आफैंले रकम उठाएर गर्ने प्रतियोगिता हो। यसमा हामीले सुरक्षा हिसाबले मात्रै सहयोग गर्छौं।’
गत वर्ष बन्दीगृहका फुटबल टिमको कप्तान ३८ सय क्विन्टल सुन तस्करका अभियुक्त भुजुङ गुरुङ थिए। उनी निकै राम्रो फुटबल खेलाडीमा गनिन्थे। यसवर्ष उनी डिल्लीबजार कारागार सरुवा भएकाले उनले त्यो अवसर पाएनन्। सुन तस्करीमै संलग्न भएको आरोपमा थुनामा रहेका ‘गोरे’ भनिने चुडामणि उप्रेतीले सहभागिता जनाउने लागेका थिए।
तर, सुरक्षा खतरा भन्दै उनलाई भने फुटबल खेल्न प्रतिबन्ध लगाइएको स्रोतले नेपाल लाइभलाई जानकारी दियो। ‘गोरेसहित सुरक्षा खतरा हुन सक्ने ठानिएका अन्य कैदीले पनि फुटबलमा सहभागिता जनाउन लागेका थिए। सुरक्षा खतराकै कारण उनीहरूलाई सहभागिता हुन नदिएको हो,’ स्रोतले भन्यो।
त्यस्तै अन्य कार्यक्रमको समेत आयोजना हुने गरेको छ। कैदीहरू आ–आफ्नो कला पनि प्रस्तुत गर्छन्। नाचगानदेखि कथा–कविताभन्नेसम्मका कार्यक्रम हुने गरेको कारागार स्रोतले जानकारी दियो। तिहारमा कारागारभित्र देउसी–भैलो पनि हुँदै आएको छ।
दसैंमा साधारण मानिसले टिका लगाएजस्तै कैदीका आफन्त आएर टीका लगाइदिने चलन छ। टाढा भएकाहरूको पनि कैदीका साथीका आफन्तले टीका लगाउँछन्। ‘टीकाको दिन बिहानैदेखि कारागारबाहिर लामो लाइन हुन्छ। आफन्त आएका छन् भन्ने खबर आएपछि पुलिसले माइकिङ गरेर बोलाउँछ,’ सहायक जेलरर खनाल भन्छन्, ‘आफन्तले टीका लगाइदिन्छन्। एकछिन गफगाफ गर्छन्, खानेकुरा दिन्छन्, फर्किन्छन्।’
सरकारले दसैंको अवसरमा कैदी मिनाहा गर्दै छुट गर्ने चलन थियो। तर, वर्षदेखि दसैंमा कैदी मिनाहा नगरेपछि दसैं खल्लो भएको कैदीको गुनासो पनि आउने गरेको कारागारहरूले जनाएका छन्। यस वर्ष सरकारले संविधान दिवसको अवसरमा देशभरबाट यसपाली २ सय ६० जनाले कैद मिनाहा पाएका थिए।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।