काठमाडौँ– पटक पटक फुट्दै र जुट्दै आएका पूर्वपञ्चहरुको पार्टी राप्रपामा फेरि एकताको प्रसङ्गले प्रवेश पाएको छ । पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त)ले औपचारिक रूपमा समान विचारधारा र सिद्धान्त बोकेका राजनीतिक दल तथा व्यक्तिसँग एकता र सहकार्य गरेर अगाडि बढ्ने निर्णय गरेको छ । एकताका लागि पार्टीले अध्यक्षद्वय राणा र लोहनीलाई अधिकार प्रदान गरेको राप्रपा प्रवक्ता जनकराज पाठकले जानकारी दिए । राप्रपा संयुक्तले गरेको यो निर्णयसँगै राप्रपा अध्यक्ष कमल थापाले निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । कमल थापा नेतृत्वको राप्रपा, प्रकाशचन्द्र लोहनी बीचको राप्रपा राष्ट्रवादी र पशुपति शमशेर राणाबीचको तत्कालीन राप्रपा प्रजातान्त्रिकबीच यसअघि पनि एकताको प्रयास भएको थियो । तर कार्य्दिशा र व्यक्तिगत टकरावका कारण सहमति जुट्न नसक्दा एकता असफल भएको थियो । त्यसपछि कमल थापाबाहेककै राणा र लोहनीबीच एकताको घोषणा भएको थियो । गत माघ १७ गते राणा लोहनीबीच १० बुँदे सहमति भएपछि थापाबिनै एकता भएको थियो । पार्टीको वैचारिक आधार राष्ट्रियता, प्रजातन्त्र र उदारवाद रहेको छ भने मुख्य नीति र सिद्धान्त पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दूराष्ट्र तय गरिएको छ । यस्तै राजसंस्थासहितको प्रजातन्त्र, उदार अर्थतन्त्र र असंलग्न परराष्ट्र नीति पनि पार्टीको नीति र सिद्धान्त मानिएको छ ।