
काठमाडौं, २४ साउन । सत्तासाझेदार दल नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । आज बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले सरकारले सिन्धुपाल्चोक जिल्लालाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो घोषणाअनुसारको कामलाई तीव्रता दिन नसकेको भन्दै असन्तुष्टि जनाएका हुन् । प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घच्घच्याउने र उत्प्रेरित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।






