
काठमाडौँ, २५ साउन ।
तालिबानले अफगानिस्तानका थप तीनवटा क्षेत्रीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ । देशव्यापी रूपमा आफ्नो नियन्त्रण बढाउने क्रममा तालिबानले उक्त राजधानीमा कब्जा जमाएको हो ।
अफगानिस्तानमा जारी हिंसालाई लिएर अन्तर्राष्ट्रिय चिन्ता बढिरहेका बेला तालिबानले लडाइँ कायम राखेको हो । उसले युद्धविरामको आह्वानलाई अस्वीकार पनि गरेको छ ।
तालिबानले हिजो देशको उत्तरतर्फको प्रमुख सहर कुन्दुजलाई आफ्नो नियन्त्रणमा लिएको थियो । उसले सार(ए(पोल र तालोकान सहरमा पनि कब्जा गरेको छ। तालिबानले गत शुक्रवारयता ४ वटा क्षेत्रीय राजधानीहरूमा आफ्नो नियन्त्रण कायम गरिसकेको छ । त्यसमध्ये तालिबानका लागि कुन्दुज यो वर्षको सबैभन्दा महत्त्वपूर्ण उपलब्धि हो । उक्त सहर राजधानी काबुलसहित देशका अन्य भागहरूमा जोडिएको छ ।