
काठमाडौँ, २५ साउन ।
चलचित्र र टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि किड्नीको समस्याबाट पीडित हुनुहुन्थ्यो ।
मुम्बईको गोरेगाउँस्थित लाइफ लाइन अस्पतालमा उहाँको उपचार भइरहेको थियो । ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उहाँ चर्चित बन्नुभएको थियो । चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उहाँको निधनको जानकारी दिनुभयो । श्यामको निधनले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको पनि उहाँले बताउनुभएको छ ।
गत वर्ष अनुपम श्याम बिरामी भएपछि अस्पताल भर्ना हुनुभएको थियो । अनुपम श्यामको जन्म सन् १९७५ मा उत्तर प्रदेशको प्रतापगढमा भएको थियो । उहाँले स्लमडग मिलेनियर, ब्यान्डिट क्वीन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन् ।