
काठमाडौँ, २१ भदौ ।
काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट, रामकोट, बाफल, सीतापाइला लगायतका बस्ती डुबानमा परेका छन् । वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । अहिले पानी पर्न कम भएपछि नदी, खोलामा पानीको सतह घट्दैछ ।