
भक्तपुर, २१ भदौ : रातीदेखि परेको अविरल वर्षाका कारण काभ्रे प्रवेश गर्ने दुई वटै सडक अबरुद्ध हुँदा अरनिको राजमार्ग खण्ड बन्द भएको छ । राजमार्ग बन्द भएर यातायात अबरुद्ध हुँदा भक्तपुरको सूर्यविनायसम्म सयौ गाडी बिहानैदेखि लामबद्ध भएर रोकिएका छन् ।
भक्तपुबाट काभ्रे तर्फ जाने दुई सडक मध्ये अरनिको राजमार्ग खण्डको बनेपा पुल बजार डुबानमा पर्दा पुल बजारदेखि भक्तपुरको सूर्यविनायकसम्म सडक बन्द भएको महानगरीय प्रहरी बृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
बिहानैबाट काभ्रेदेखि सूर्यविनायकसम्म सडकको दुबैतर्फ गाडी लामबद्ध रहेको जानकारी दिदै उहाँले पुल बजार खुलेर सहज रुपमा यातायातका साधन जान सक्ने अबस्था नभएसम्म समस्या हुने बताउनुभयो । उहाँले सडक नखुलेसम्म काभ्रे जाने यातायातको साधनलाई यो सडक भएर नआउन समेत आग्रह गर्नुभयो । बिहान १० बजेसम्म यातायातको साधनको चाप सडकमा बढ्दै गएको प्रहरीको भनाइ छ ।
काभ्रे जाने बैकल्पिक सडकको रुपमा रहेको भक्तपुरको च्यामासिंह ताथली, नाला हुदै बनेपा निस्कने सडक समेत अबरुद्ध हुँदा यो सडक भएर जाने सवारी साधन ताथली र गुम्बामा दुवैतर्फ समेत रोकिएका छन् ।
राती भक्तपुर र काभ्रेको सिमानामा पर्ने चाँगुनारायण नगरपालिका ९ भञ्याङमा पहिरो गएर यो सडक अबरुद्ध हुँदा अरनिको राजमार्गको बिकल्पको रुपमा यो सडक हुँदै गएका सवारी साधनहरु पनि पाँच घण्टा भञ्याङमा रोकिएका छन् । पहिरो र रुख खसेर बाटोमा परेसम्म अबरुद्ध सडक प्रहरीले हटाएको छ ।
प्रहरी नायब उपरीक्षक थापाले ताथली नाला सडकको पहिरो प्रहरीले हटाएर एकतर्फी सवारी साधन चलाउन शुरु गरेको बताउनुभयो । अरनिको राजमार्ग अबरुद्ध हुँदा यही मार्ग भएर गएका र बनेपाबाट आएका सयौ सवारी साधनहरु दुई तर्फनै रोकिएका छन् । प्रहरीले एकतर्फी सडक सञ्चालन गराए पनि सवारी साधन भने लामो जाममा रहेका छन् । थप पहिरो खस्ने सम्भावना रहेको स्थानीयले बताएका छन् ।
यता वर्षाका कारण हनुमन्ते र मनोहरा खोलामा पानीको बहाब उच्च रुपमा बढेको छ । मनाहरा खोलामा पानीको बहाब बढेपछि खोला आसपासका केही क्षेत्र डुबानमा परेका छन् । लोकन्थलीस्थित मनोहरा खोला किनारामा रहेको सुकुम्वासी बस्ती डुबानमा परेको प्रहरीले जानकारी जानकारी दिएको छ । हनुमन्ते खोला किनाराका बस्तीका बासिन्दालाई पनि खोलाको बहाब बढेकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ ।