हामीसँग जोडिनुहोस

भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गर्यो

2 मिनेट

भक्तपुर, २२ भदौ: बेरुजुको चाङ रहेको भक्तपुर अस्पतालले बेरुजु शून्य पार्ने अभियान सुरु गरेको छ । यसअघिका मेडिकल सुपरिटेण्डेन्ट एवं प्रशासनले बाँकी राखेको बेरुजुलाई अस्पतालले शून्यमा झार्ने अभियान सञ्चालन गरेको हो । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले अस्पतालमा यसअघि रहेको बेरुजुलाई शून्यमा घटाउने अभियान अस्पतालले सञ्चालन गरेको जानकारी दिइन् ।

उनले भनिन्, “भक्तपुर अस्पताललाई धेरै सुधार गर्न सक्षम भएका छौँ, अस्पतालमा म आउँदा अस्पताल सुदृढीकरण मूल्याङ्कन ३८ थियो, अस्पताललाई सुदृढीकरण गर्दै लगेपछि अहिले ८२ पु¥याउन सफल भएका छौँ, त्यसैले बागमती प्रदेश सरकारबाट यस वर्ष उत्कृष्ट अस्पतालको पुरस्कार पाउन सफल भएका छौँ, अब बेरुजुलाई पनि शून्य बनाउने अभियान सुरु गरेका छौँ ।”

अस्पतालमा ८० देखि १५० जनासम्म बिरामी आउने गरेको अहिले अस्पतालको सेवा विस्तार र गुणस्तरीय सेवा प्रवाह गरेपछि दैनिक ७५० देखि ८०० बिरामी आउने गरेको उनले जानकारी दिइन् । अस्पतालले बेरुजु शून्यमा झार्न नातीबाबु खत्रीलाई बेरुजु हेर्ने अधिकृतको जिम्मेवारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको रेकर्डअनुसार आव २०७५-७६ सम्ममा भक्तपुर अस्पतालमा रु तीन करोड ६९ लाख २० हजार ८२० बेरुजु रहेको अधिकृत खत्रीले जानकारी दिए ।

उनले भने, “अस्पतालमा यति धेरै बेरुजु थियो, कतिपय बेरुजुको रेकर्डसमेत नभएको पायौँ, अहिले खोजीखोजी बेरुजु उतारेका छौँ, अस्पताल छाडेर जानेहरूलाई पत्र काटेका छौँ, यतिसम्मकि तलब खानेले करसमेत नबुझाएको पाइयो, सबै बेरुजु उठाउँछौँ, नउठे कारबाहीका लागि पठाउँछौँ ।”

बेरुजुमध्ये रु एक करोड ८० लाख ४३ हजार १९४ नियमिततर्फबाट घटेको बताउँदै उनले विसं २०७२ देखि २०७६ सम्म तलबको करसमेत नतिरेको र ती रकम बेरुजुका रूपमा आएको उनले बताए । थप रु एक लाख ५३ हजार १९० रकम राज्यकोषमा जम्मा गरिएको र सरुवा भएर गएका कर्मचारीलाई पनि बेरुजु रहेकालाई पत्रचार गरिएको खत्रीले जानकारी दिए ।

कतिपय औषधि र सामग्री सप्लायर्सको नाममा समेत बेरुजु रहेको पाइएको छ । बेरुजु उठाउन सम्बन्धित व्यक्तिलाई पत्राचार गरेपछि सप्लायर्सले धम्क्याउने गरेको र सरुवा भई गएका कर्मचारी एवं चिकित्सकले राजनीतिक पहुँचको भरमा पत्र नै फिर्ता पठाउने गरेको उनको भनाइ छ । गत वर्ष र आव २०७७-७८ मा भने बेरुजु शून्य रहेको छ । अस्पताल नियमसङ्गतरूपमा चलेकाले अब बेरुजु आउने सम्भावना नभएको र पुराना बेरुजु उठाउने लक्ष्यका साथ अस्पताल अगाडि बढेको उनको भनाइ छ ।

त्यसैगरी भक्तपुर अस्पतालमा आएका बिरामीलाई केही बिचौलियासमेतको मिलेमतोमा अस्पताल अगाडिको सान प्याथोलोजीमा बिरामी पठाएर कमिशन लिने गरेको भन्ने यसअघिको समाचारमा सान प्याथोलोजीका सञ्चालक सञ्जय जाकिबञ्जारले ध्यानाकर्षण भएको बताएका छन् । उनले सानका बारेमा समाचारमा आएको विषयमा सत्यता नभएको दाबी गरे । उनले भक्तपुर अस्पतालका कुनै पनि चिकित्सकलाई कमिशन दिएर बिरामी पठाउन नभनेको र ल्याब परीक्षणमा महङ्गो शुल्क पनि नलिएको दाबी गरे ।

यद्यपि समाचारमा उल्लेख भएअनुसार भक्तपुर अस्पतालका कर्मचारीले आफैँ सान प्याथालोजीमा सेवा लिन जाँदा लिएको बढी शुल्कबारेमा प्रश्न गर्दा कर्मचारीले अस्पतालका चिकित्सकलाई नै दिनुपर्ने बताएपछि यसको खोजी गर्ने क्रममा केही चिकित्सक र कर्मचारीसमेतलाई कारबाही गरेको अस्पताल प्रशासनले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।