
काठमाडौँ, २२ भदौ ।
भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइपलाइनबाट हाल डिजेल मात्रै आयात गरिँदै आएको छ । अब भने नेपाल आयल निगमले सोही पाइपलाइनको माध्यमबाट पेट्रोल र मट्टितेल समेत ल्याउने कार्यको थालनी गरेको निगमको २ नम्बर प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख प्रदीपकुमार यादवले बताउनुभएको छ । अबको केही समयभित्रमै भारतको मोतिहारीबाट ल्याएको पेट्रोलियम पाइप लाइनबाट पेट्रोल र मट्टितेलसमेत ल्याइने छ । पाइप लाइनबाट पेट्रोल र मट्टितेल ल्याउँदा राज्यलाई ढुवानी भाडा बापतको ९ करोड रुपैयाँ मासिक फाइदा हुने यादवले बताउनुभयो । काठमाडौँ, पोखरा, विराटनगर, भैरहवा, जनकपुरलगायतका स्थानमा अमलेखगञ्ज डिपोद्वारा पेट्रोलियम पदार्थ वितरण हुँदै आएको छ । एउटा ट्याङ्कर भारतको बरुनी डिपोमा गएर पेट्रोलियम पदार्थ ल्याउँदा ४५ हजार गाडी भाडा लाग्ने गरेको छ । मासिक २ हजार ट्याङ्कर २ सय ५० किलोमिटरको दुरी पार गरेर भारत जाने गरेका छन् । यसका लागि करिब २ सय लिटर डिजेल समेत लाग्ने गरेको कार्यालय प्रमुख यादवले बताउनुभएको छ ।