
भक्तपुर, २३ भदौ : मध्यपुरथिमि नगरपालिका–६ स्थित ३०० वर्ष पुरानो दथु बहा बहा अर्थात जेतबर्ण महाबिहारले मौलिक स्वरुपमा पुर्नजीवन पाएको छ । जिर्णोद्धारको अभावमा लामो समय जीर्ण बनेको बौद्धमार्गीहरुको महत्वपूर्ण यो महाबिहार २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि उठ्न सकेको थिएन । नगरपालिकाले जनप्रतिनिधी पाए पछि नगर प्रमुख मदनसुन्दर श्रेष्ठको सम्पदा संरक्षण, जिर्णोद्धार एवं पुर्ननिर्माणको अभियानकै क्रममा अन्ततः यो महाबिहार ३०० वर्ष पुरानो स्वरुप र शैलीमै पुनः उठेको छ ।
नेपाल संवत ८२५ मा राजा भूपतिन्द्र मल्लले निर्माण गराएको यो बिहारले पुर्नजीवन पाएको महाबिहार पुर्ननिर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । नगरपालिकाको ५४ लाखको लागतमा पुर्ननिर्माण सम्पन्न भएको बिहारको एक पाटोको नगर प्रमुख श्रेष्ठले उद्घाटनसमेत गरे पछि बिहारमा नियमित धार्मिक कार्य सूचारु भएको छ ।
भूकम्पले आधा भत्किएको यो बिहारको चारै पाटो पुर्ननिर्माणको क्रममा मल्लकालिन प्रबिधि प्रयोग गरिएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो एउटा यस्तो बिहार हो, जसको पुर्ननिर्माणमा मल्लकालिन प्रबिधिको प्रयोग गरेका छाँै, यसको पुर्ननिर्माणका क्रममा पहेंलो माटो, सेतो (कमेरो) माटो र कालो माटोको प्रयोग गरेका छाँै, बाहिर पट्टी नेपाली परम्परागत रुपमा तयार पारिने, लिउन लगाएका छौ, पछिल्लो समयमा सम्पदा पुर्ननिर्माणमा मल्लकालिन प्रबिधि प्रयोग गरिएको यो नमूना सम्पदा हो ।”
नगरपालिकाले बिहारको अन्य भागको काम सम्पन्न गर्न र फिनिसिङ्का लागि ७५ लाख बजेट विनियोजन गरेको बताउदै उहाँले यसवर्ष बिहारको बाँकी सम्पूर्ण काम सम्पन्न गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । नगरपालिकाले थिमिको पाँच वटा विहार पुनःनिर्माण एवं जीर्णोद्धार गरेको छ ।
“नगर बनाउने जिम्मेवारी जनताले सुम्पिएर नगरपालिकामा चुनेर पठाउनु भो, मेरोअ ाँखा यहाँका सम्पदामा थियो, त्यसैले यहाँका जीर्ण सम्पदाहरु, भत्किन लागेका दरबारहरु, भत्किएका पार्टी, मठ मन्दिरहरुलाई पुर्नजीवन दिन लागे, पुरिएका ऐतिहासिक पोखरी, इनार, ढुङ्गेधाराहरु पाटी पौवा उत्खनन् गर्दै पुर्ननिर्माण गर्न थाले, फोहोर फाल्ने र झाडी बनेको ठाउँलाई आकर्षक पार्कहरु बनाउन थाले,”– नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “१५ देखि ३० वर्षसम्म बन्द भएको ऐतिहासिक महत्व बोकेको मुर्छित जात्रा पर्वहरु ब्युझिाउन थाले, अहिले यहाँका सम्पदादेखि मूर्त अमूर्त कला, संस्कृति, जात्रा पर्वहरु पुरानै स्वरुपमा फकाएन सफल भएको छ, नयाँ पुस्ताले आत्मासात गर्दै गए, मध्यपुरथिमिको यो पहिचान हजारौ बर्ष जिवित रहन्छ ।”
अरनिको राजमार्गसँगै टाँसिएको फोहोर फाल्ने भिरालो जमिन यतिखेर ऐतिहासिक तीनधारा र परम्परागत शैलीको एमपी थियटर सहित सुन्दर ‘शंखधर पार्क’मा बनेको छ, परम्परागत पार्टी र सूचना केन्द्र निर्माणको काम शुरु भएको छ । नगरपालिकाले बोडेस्थित कुमारी पार्क, भैरब पार्क, नगदेशमा गयदेको पार्क, यमा फार्क, विष्णु कुण्डल पार्क, नगदेशको सुचुत्वास्थित गयर दोफो पार्क, चोडेको निलवर्ण पार्क, कमेरोटारको तसोताः पार्क, आलाचको पार्क, सिद्धिकालीको कुटिंग डाँडामा संजिवनी पार्क र लोकन्थलीमा बाल उद्यान निर्माण भएका छन् ।
पुर्खाले जोडेर गएको महत्वपूर्ण सम्पदाको अस्तित्व जोगाउदै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यले अहोरात्र खटिएको बताउदै नगर प्रमुख श्रेष्ठले भन्नुभयो, “नगरपालिकाले यो चार वर्षको अबधीमा २३ वटा मन्दिर, ३७ वटा पाटी, लोपोन्मुख अवस्थामा पुगेका २५ वटा ढुङ्गे धारा, इनारको संरक्षण गरेका छौँ, १५ वटा पोखरीको पुननिर्माण एवं जिर्णोद्धार भएकोमा ६ वटामा पानी भरिएको र थप १० वटामा काम भइरहेको छ । यहाँका थिमि लायकु, बोडेको लायकु र नगदेशको लायकु गरि तीन वटा दरबार पुर्ननिर्माण कार्य अन्तिम चरणमा पुगेको छ, थप कामहरु गरिरहेका छौँ ।”
बोडेको पाँचो गणेशमा जिब्रो छेड्ने पाटी पछाडिको जग्गा खरिद गरि पाटीलाई पछाडि सारेर जात्रास्थललाई फराकिलो पार्ने कार्य शुरु भएको छ । नगदेशको लायकुलाई नेवाः संग्रहालय बनाउने गुरुयोजना तयार पारेको छ ।