
काठमाडौँ,२७ भदौ ।
सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतकहरुसँग छलफल गरेपछि आज दोस्रो पटक सुरु भएको प्रतिनिधिसभा बैठकमा पनि एमाले सांसदहरुले अवरोध गरेका छन् । उनीहरुले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन् । पार्टी फुटाउने षडयन्त्र मुर्दाबादको नारा लगाउँदै उनीहरुले नाराबाजी गरिरहेको जनाइएको छ । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले लगातार बैठक अवरोध गर्दै आएको छ । एमालेले बैठक लगातार अवरोध गरेपछि आज सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग छलफल गरेका थिए । सो छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए । तर, सो छलफलमा निस्कर्ष ननिस्केपछि एमालेले बैठक अवरोध जारी राखेको हो । आज पहिलो पटक बसेको बैठकमा एमालेको अवरोधपछि सभामुखले केही समय बैठक स्थगित गरेर एमालेसँग छलफल गरेको थियो ।