
काठमाडौं, २८ भदौ । दोलखाको भीमेश्वर नगरपालिका–२ मा अवस्थित प्रसिद्ध भीमेश्वर मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिएको छ । भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराजमान श्रेष्ठका अनुसार कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि सरकारले जारी गरेको लकडाउनका कारण बन्द रहेको भीमेश्वर मन्दिर सोमबारदेखि पूर्ण रुपमा सर्वसाधारणका लागि खुला गरिएको हो ।
वडाध्यक्ष श्रेष्ठका अनुसार सोमबारदेखि सरकारले जारी गरेको सम्पूर्ण स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गरेर सर्वसाधारणका लागि मन्दिर पूर्ण रुपमा खुला गरिएको हो । अब सर्वसाधारण भक्तजनहरुले मन्दिरको शिलाको प्रत्यक्ष दर्शन गर्न पाउने भएका छन् ।
उनले भने, ‘सम्पूर्ण सर्बसाधारणहरुका लागि मन्दिर पूर्ण रुपमा खुल्ला गरेका छौं । अब सबैले प्रत्यक्ष रुपमा सबैले दर्शन गर्न पाउनेछन् ।’ यस अगाडि लकडाउनका कारण मन्दिर बन्द रहँदा पनि मन्दिर बाहिर पूजा गर्नेहरुको भीड नै लाग्ने गरेको थियो । त्यस्तै वडाध्यक्ष श्रेष्ठका मन्दिरमा पूजा गर्न आउनेहरुले अनिवार्य रुपमा मास्क लगानुपर्नेछ । सेनिटाइजर भने मन्दिर परिसरमै ब्यवस्था गरिने वडाध्यक्ष श्रेष्ठले जानकारी गराए । सकेसम्म सामाजिक दूरी पनि कायम गर्नुपर्ने उनको भनाइ छ ।
त्यसोत, यस मन्दिरमा गत मंसिर ९ गते पसिना आएपछि मुलुक र जनतालाई ‘अनिष्ट नहोस् भन्दै राष्ट्रपति, भीमेश्वर मन्दिर गुठी, पूजा व्यवस्थापन समिति र सर्वसाधारणको तर्फबाट क्षमापूजा गरिएको थियो । भीमेश्वरको शिलामा पसिना आउँदा देशमा अनिष्ट हुने जनविश्वास छ ।