
काठमाडौँ, १७ असोज ।
रूपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा साढे दुई अर्ब रुपैयाँको बुद्धमूर्ति राखिने भएको छ । विमानस्थल परिसरमा राखिने मूर्ति ‘ह्वाइट जेड’ धातुबाट बनेको हुनेछ । उक्त मूर्ति कोलकाताबाट ल्याइएको हो । म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहल तथा नेपाल सरकारको स्वीकृतिमा राखिने भएको हो । उक्त बुद्धमूर्तिको कात्तिक १४ गते राष्ट्रपति बिद्यादेवी भण्डारीबाट अनावरण गरिने कार्यक्रम तय भएको लुम्बिनी गार्डेन फाउण्डेशनले जनाएको छ । बुद्धमूर्ति अनावरण कार्यक्रममा स्पेनको एक्स्ट्रेमादुरा प्रदेशसभाका अध्यक्ष ब्लान्सा मार्टिन, डेल्गाडो र सोही प्रदेशका दुईजना मन्त्रीसमेत आउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेशनका महासचिव एकराज गिरीले जानकारी दिनुभएको छ । एक दशमलव नौ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको सो बुद्धमूर्तिमा प्रयोग भएको बहुमूल्य धातु ‘ह्वाइट जेड’को हालको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिग्राम १२ अमेरिकी डलर रहेको गिरीले जानकारी दिनुभएको छ ।