
काठमाडौँ, २२ असोज ।
परराष्ट्रमन्त्री डा। नारायण खड्का आज सर्विया जाँदै हुनुहुन्छ । मन्त्रिपरिषद् बैठकको निर्णयनुसार मन्त्री खड्का सर्वियामा हुने असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । उक्त बैठकमा १२० भन्दा बढी असंलग्न परराष्ट्र नीति अख्तियार गरेका राष्ट्रका परराष्ट्रमन्त्रीहरूको सहभागिता रहनेछ । मन्त्री खड्काको सचिवालयका अनुसार उहाँ राति ८ बजेर ५० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सर्वियातर्फ प्रस्थान गर्नुहुने छ । मन्त्री खड्कासँगै निजी सचिव शिवानी बस्नेत, सहसचिव सेवा लम्साललगायत टोलीमा सहभागी हुनेछन् । मन्त्री खड्का शिखर सम्मेलनमा भाग लिन शनिबार त्यसतर्फ जाने तयारी थियो । तर, टिकट अभावका कारण आजै उड्नुपर्ने भएको हो ।