
काठमाडौँ, ०७ कात्तिक ।
नेपाली कांग्रेसले महाधिवेशनको मिति चारपटक सारेर मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।
विधानअनुसार गत फागुन २० गते नै म्याद सकिएको कांग्रेसको वर्तमान केन्द्रीय समितिले कोरोना महामारीका कारण महाधिवेशन गर्न नसकिएको भन्दै निर्वाचन आयोगलाई संविधानअनुसार अधिवेशन गर्ने पत्र बुझाएर गत भदौ १६ देखि १९ सम्म महाधिवेशन गर्ने निर्णय गरेका थियो ।
तर, त्यस अवधिमा महाधिवेशनका आवश्यक तयारी गर्ने भन्दा क्रियाशील सदस्यतामा विवाद बढेपछि मंसिर ९ देखि १३ गतेसम्मका लागि सारिएको थियो । संविधानअनुसार भदौ २० गते वैधानिकतामा प्रश्न उठ्ने भएपछि भदौको १८ गतेबाट कांग्रेसले वडा अधिवेशन थालेको थियो ।
तर अहिलेसम्म १३ जिल्लामा कांग्रेसले क्रियाशील सदस्यको नामावली नै नटुंग्याउँदा वडा अधिवेशन सुरु हुन सकेको छैन । १३ जिल्लामध्ये प्रदेश २ का सबै जिल्लामा विवाद देखाइएको छ । संस्थापनले आफूलाई बलियो बनाउन राप्रपा, फोरम र अखण्ड पार्टीसहितका नेताका नाममा क्रियाशील सदस्यता थपिरहेको आरोप संस्थापनइतरले लगाइरहेको छ । कांग्रेसमा आरोप प्रत्यारोप जारी रहँदा आगामी मंसिर ९ देखि १३ सम्मका लागि घोषित महाधिवेशन पनि प्रभावित हुने देखिएको छ ।