नगरप्रमुखले गरे स्थगित, उपमेयरद्धारा संचालन
भक्तपुर, १८ असार । मध्यपुरथिमि नगरपालिकामा जनप्रतिनिधीको विवादका कारण आजका लागि आव्हान गरेको विशेष नगरसभा विवादित बनेको छ ।
आज २ बजेलाई आव्हान गरेको विशेष नगर सभा नगर प्रमुख मदन सुन्दर श्रेष्ठले स्थगित गर्नुभएको छ । नगरसभाको सचिव एवं नगरपालिकाका प्रशासकीय अधिकृत महेश बरालले हस्ताक्षर गरी बिज्ञप्ती जारी गर्दै आज आव्हान गरेको विशेष नगर सभा स्थगित गरिएको जानकारी दिएको हो ।
नगर सभाका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदन सुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिकाको विशेष नगर सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रदेश नं. ३ प्रदेश सभाद्धारा जारी भएको नगर सभा संचालन कार्यबिधी सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिमको परिस्थिति उत्पन्न भई नियमित रुपमा संचालन गर्न बाधा पर्ने भएकाले स्थगित गरेको जानकारी दिनुभयो ।
तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भई नगर प्रमुख श्रेष्ठ र वडा नं. ५ का अमृतमान श्रेष्ठ विजयी हुनुभएको हो भने एक वडा अध्यक्ष नेमकिपा र एक वडा अध्यक्ष स्वतन्त्र तथा अन्य सबै जनप्रतिनिधी नेपाली काँग्रेसबाट उम्मेदवार भई विजयी भएका हुन् ।
नगरपालिकामा वडा अध्यक्ष सहित कार्यपालिका सदस्य समेत दुईतिहाई बहुमत रहेकाले सोही बहुमतका आधारमा आज नगर प्रमुखले नगर सभा स्थगित गरे पनि उपप्रमुख अञ्जनादेवी मधिकर्मीले आफ्नै अध्यक्षतामा विशेष नगर सभाको बैठक संचालन गर्नुभएको हो ।
नगर सभामा वडा नं. २ का वडा अध्यक्ष एवं प्रवक्ता राम थापामगरले सभामा बिभिन्न प्रस्तावहरु राख्नुभयो । उहाँले गतवर्षको नगरसभाले पारित गरेको एकिकृत कर खारेज गर्ने, बिभिन्न क्षेत्रमा लगाईएको कर घटाउने, एकिकृत सम्पत्ति कर घटाउने, जग्गाको मूल्यांकन घटाउने, नगर प्रमुखले एकल निर्णयबाट संचालन गरेको बिभिन्न योजनाहरुको छानबिन गर्ने, नगर प्रमुखले नियुक्ती गरेको कमेरोटार जग्गा एकिकरण आयोजनाको प्रमुख बर्खास्त गर्ने र कार्यपालिका बैठकले निर्णय गरि नयाँ नियुक्ती गर्ने, नेपाल कोरिया मैत्री अस्पतालमा छानबिन गर्ने लगायतको प्रस्ताव पेश गर्नुभयो ।
प्रस्तावमा २० मिनेट छलफल भएपछि वडा नं. ७ का वडा अध्यक्ष कृष्ण कुमार प्रजापतिले गतवर्ष गरेको निर्णयको प्रंशसा गर्ने जनप्रतिनिधीहरुले यो सभामा त्यही निर्णयको आलोचना गरेको बताउनुभयो ।
हतारमा, सस्तो तरिकाले एकपक्षिय ढंगले सभा संचालन भएको बताउदै एक पक्षले गल्ति गर्दा अर्को पक्षले पनि गल्ती दोहरयाएको बताउनुभयो ।
नगरसभामा प्रस्तुत गरिएका प्रस्तावहरु बहुमतले पारित गरेको उपप्रमुअ मधिकर्मीले जानकारी दिनुभयो । उहाँले नगर सभा स्थगित गरिएकोबारेमा जानकारी नभएको र नगर प्रमुख नआएपछि आफैले संचालन गरेको बताउनुभयो ।