
काठमाडौं, २९ मंसिर ।
काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटीसमेत ५ जना उपर गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरपालिकाका निर्देशक बोगटी, खरिद इकाई प्रमुख उप–निर्देशक बखत बहादुर साउद, उप–निर्देशक सुमन अधिकारी, उप–निर्देशक वीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीविरुद्ध मुद्दा दर्ता गरेको हो।
काठमाडौं महानगरपालिका–१२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं। ‘३३१८५–०७७–०७८–एनसीबीडब्लु–केएमसी’को लागि सार्बजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम विद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको अख्तियारको ठहर छ।
सो सम्बन्धी उजुरी सम्बन्धमा अनुसन्धान हुँदा आरोपीहरुले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको पाइएको थियो। अख्तियारले उनीहरुविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।