
काठमाडौं, ३ पुष, डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाको बेड गाँउ जिल्ला भरिकै पहिलो बालविवाह मुक्त गाँउ घोषणा गरिएको छ । वडा अध्यक्ष रामबहादुर खड्काले आज एक कार्यक्रमका बीचमा उक्त गाँउलाई बालविवाह मुक्त गाउँ घोषणा गर्नुभएको हो । जिल्लामा सबै भन्दा बढी बाल विवाह गरिने वडाका रुपमा चिनिँदै आएको लडागडालाई अबका केही दिनमा बालविवाह मुक्त घोषण गर्ने उद्देश्य अनुरुप अहिले प्रत्येक गाउँ टोलहरुबाट नै बालविवाह मुक्त घोषणाको सुरुवात गरिएको हो । गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा सामुदायिक विकास केन्द्रको पहलमा उक्त वडालाई बाल विवाहमुक्त गर्ने योजना रहेको वडा अध्यक्ष रामबहादुर खड्काले बताउनुभयो । नेपाल सरकारले बाल विवाह अन्त्यका लागि राष्ट्रिय रणनीति, २०७२ ले पनि सन् २०३० सम्म नेपालबाट बाल विवाह अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ ।