गथेमंगल राक्षसको रुप नभई भगवानकै स्वरुप भएको संस्कृतिविद्हरुले बताएका छन् । भक्तपुर र थिमिमा गथेमंगल पर्व मनाउने विधि, परम्परा र संस्कृतिका सन्दर्भमा नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुर शाखाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै डा. पुरुषोत्तमलोचन श्रेष्ठले हरेक जात्रा प्रवृतिमा भरपर्ने भएकाले गथेमंगललाई राक्षसको उपमा दिने गरिएको बताउनुभयो । उहाँले
गथेमंगल राक्षस नभई भगवानको एक रुप भएको बताउनुभयो । उहाँले यो जात्रालाई किसान परिवारसँग जोडिएको पर्वका रुपमा समेत ब्याख्या गर्नुभयो । पर्वका समयमा बोलीने भाषामा अश्लीलताको प्रयोग हुने बिषय हरेक क्षेत्रबाट अध्ययन र अनुसन्धान गर्दा सकारात्मकै देखिएको उहाँको भनाई छ । उहाँले गथेमंगल र घन्टाकर्ण फरक फरक हुन् भनी गरिएको व्याख्या गलत रहेको भन्दै यी दुबैको नाम एकै भएको प्रष्ट पार्नुभयो । कार्यक्रममा मध्यपुर थिमिका संस्कृति अध्ययनकर्ता राजेन्द्र तु श्रेष्ठले मध्यपुर थिमि नगरमा जम्मा १२ स्थानमा गथेमंगल मनाइने बताउनुभयो । गथे मंगललाई सफाई अभियानका रुपमा समेत लिन सकिने उहाँको भनाई छ । परम्परालाई परिमार्जन गर्ने काम गलत भएको भन्दै उहाँले हरेक साँस्कृतिक पाटोलाई जीवन्त राख्न सोही अनुरुप निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।
नेवा पत्रकार दबुका केन्द्रिय अध्यक्ष श्रीकृष्ण महर्जनले सञ्चार क्षेत्रले हरेक विज्ञहरुको भनाईलाई मात्र नभइ फरक धारबाट अध्ययन गरि त्यसको प्रस्तुती र जानकारी दिन सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा रफत सञ्चार क्लबका केन्द्रिय अध्यक्ष शुसिलबन्धु थापाले सञ्चार क्षेत्रले भक्तपुरका हरेक कला संस्कृति र सम्पदाका बारे बिश्व माझ जानकारी प्रदान गर्न सक्ने भएकाले दबुले आफ्नो क्षेत्रबाट भक्तपुरका जात्रा पर्वका बारे यसरी नै बिज्ञहरुसँग छलफल गरि तथ्य बाहिर ल्याउने तफ अपेक्षा राखेको बताउनुभयो । भक्तपुर पर्यटन बिकास समितिका अध्यक्ष राम सुन्दर भेलेले भक्तपुरको गथेमंगल जात्रा जस्तै हरेक जात्रालाइ जीवन्त राख्न सबै क्षेत्र सक्रिय भई भक्तपुरका जात्रा र पर्वलाई बिश्वसामु परिचित गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका सभापति एवं नेवा पत्रकार राष्ट्रि दबु भक्तपुरका अध्यक्ष रामगोपाल तमखुले भक्तपुरमा मनाइने गथे मंगल पर्वका बारे जानकारी दिन र हरेक जात्राहरको संरक्षण र प्रर्वदनमा सरोकारवालाहरुलाई घच्घचाउन यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।