
काठमाडौं, ०५ माघ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी वैशाखमा स्थानीय तहको चुनाव हुने बताउनु भएको छ । एक अन्तर्वार्तामा थापाले संविधान अनुसार वैशाखमा जसरी पनि चुनाव गर्नैपर्ने र त्यसलाई कुनै पनि बहानामा सार्न नमिल्ने बताउनुभएको हो । गठबन्धनमा रहेका केही दलहरूले तत्काल चुनाव नचाहेको भए पनि संविधान अनुसार वैशाखमा स्थानीय तहको चुनाव गर्नैपर्ने उहाँको भनाई थियो ।
स्थानीय तह एक दिन पनि जनप्रतिनिधिविहीन नहोस् भन्ने उद्देश्यले संविधान र कानूनमा सोही अनुसारको व्यवस्था गरिएकाले त्यसलाई पालना गर्नुपर्ने थापाले बताउनुभएको थियो । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने ठाउँ नभएको स्वीकार्दै कार्यशैली सुधार गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको उहाँको भनाई थियो । आगामी दिनमा पार्टी सञ्चालनका क्रममा सभापतिसँग सहकार्य र संघर्ष दुवै हुने थापाले स्पष्ट पार्नु भएको थियो ।