
भक्तपुर, ५ माघ : जिल्ला प्रशासन कार्यालय, भक्तपुरले बढ्दो कोरोना सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरि २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जारी गर्नु भएको आदेश नमान्ने र उलङ्घन गर्ने सम्बन्धित व्यक्ति वा संस्थालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही एवं सजाय गरिने भएको छ ।
प्रजिअ शर्माले माघ मसान्तसम्म सभा, भेला जस्ता भीडभाड हुने कार्यक्रम नगर्ने, मठमन्दिर तथा धार्मिक स्थलमा नित्य पूजा मात्रै सञ्चालन गरि अरु बन्द गर्नु पर्ने, माघ १५ सम्मका लागि शैक्षिक संस्थाहरु भौतिक रुपमा सञ्चालन गर्न नपाउने, पठनपाठनलाई भर्चुअल वा वैकल्पिक शिक्षण विधि अपनाउनु पर्ने बताउनु भयो ।
त्यस्तै माघ ७ गतेदेखि जिल्लाका सबै सार्वजनिक निकाय सेवा लिन पूर्ण मात्रामा खोप लगाएको कार्डको फोटो देखाउनु पर्ने, सपिङ मल लगायत पसलहरूमा भौतिक दूरी कायम गर्दै एक पटकमा २५ जनाभन्दा बढी मानिस प्रवेश गर्न नपाइने, जनस्वास्थ्यका मापदण्डको पुर्ण पालना गर्नु पर्ने, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल माघ १५ गतेसम्म बन्द गर्नु पर्ने गरि आदेश जारी गरेको प्रजिअ शर्माले जानकारी दिनु भयो ।
होटल तथा रेष्टुरेन्टहरू जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरि सञ्चालन गर्नु पर्ने, खोप कार्ड वा सोको फोटो देखाएर मात्र सेवाग्राहीलाई होटलमा प्रवेश गर्न दिनुपर्ने, होटलमा बास बस्नेहरूको एन्टिजेन परीक्षण गरि त्यसको विवरण डिसिसिएमसीलाई उपलब्ध गराउनु पर्ने आदेश जारी गरेको छ ।
सार्वजनिक यातायातको साधनमा सिठ क्षमता भन्दा बढी यात्रु राख्न नपाइने, राखेमा कारबाही गरिने, यात्रुले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, चालक र सहचालकले फेस सिल्डको अनिवार्य प्रयोग गर्नु पर्ने, सवारी साधन दैनिक निसंक्रमित (स्यानिटाइज) गर्नुपर्ने, पार्टी प्यालेसमा बिवाह, धार्मिक, सास्ँकृतिक वा सामाजिक कार्य गदर्न, ब्रतबन्ध जस्ता कुनै पनि कार्यक्रम गर्दा पूर्व स्वीकृति लिएर ५० जना भन्दा कम राखेर स्वास्थ्य मापदण्ड पुरा गरेर मात्रै कार्यक्रम गर्न पाइने आदेशमा उल्लेख छ । खेलकुदका कार्यक्रमहरुमा सहभागिको अनिवार्य खोप खार्ड देखाउनु पर्ने, सहभागि सबैको एन्टिजेन परीक्षण गर्नु पर्ने र क्षमता भन्दा एक तिहाई मात्रै राख्न पाइने प्रजिअ शर्माले बताउनु भयो ।