
काठमाडौँ, ०५ माघ ।
बागमती प्रदेशमा पशुपन्छी तथा माछामा लाग्ने रोगहरुको अन्वेषण, नियन्त्रण, रोकथाम तथा उन्मुलन गर्ने उद्देश्यले बागमती प्रदेश सरकारले एक वडा एक पशु स्वास्थ्यकर्मीको कार्यक्रम अघि सारेको छ । स्थानीय तहको वडासम्मनै प्राविधिक सेवा विस्तार गर्न, पशु सेवालाई सहज, सरल, पहुचयोग्य बनाई छिटो छरितो र गुणस्तरीय सेवा प्रदान गर्ने लगायत पशुपन्छी क्षेत्रको विकासका लागि एक वडा एक पशु स्वास्थ्यकर्मी कार्यक्रम प्रदेशको साझा न्यूनतम कार्यक्रम भित्र अटाएको छ । यस कार्यक्रमबाट व्यवसायिक पशुपन्छीपालनको आधुनिक प्रविधिमा कृषकको पहुँच पुग्नुका साथै पशुमा लाग्ने रोगहरुको न्यूनिकरण र निराकरण गर्न सहज हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा। शरण कुमार पाण्डेले बताउनुभयो । मन्त्रालयले प्रारम्भिकमा वडाहरु प्रस्तावको लागि पशु स्वास्थ्य प्राविधिक हुनुपर्ने, पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि वडाको आफ्नै जमिन हुनुपर्ने, पशुपन्छी पालनको घनत्व भएको क्षेत्र आदिको आधारमा वडाहरु प्रस्ताव गर्न मातहतका कार्यालयहरुलाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।